म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयमा स्थापित किसानी सञ्जीवनी अक्षयकोषमा स्थानीयबासीले १ करोड ७६ लाख भन्दा बढी संकलन भएको छ ।

शिक्षालयमा जेहेन्दार, गरिब र विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी सुरू गरिएको अभियानमा गाउँका अति विपन्न देखि विदेशमा रहेकाहरूबाट १ करोड ७६ लाख ५१ हजार संकलन भएको किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले बताउनुभयो ।

‘केहीले खाद्यान्न बेचेर पनि सहयोग गनुर््भएको छ,अब प्राविधिक शिक्षा पनि निःशुल्क हुन्छ’ प्राचार्य गर्बुजाले भन्नुभयो।
गत कात्तिक १२ गतेबाट सुरु भएको अभियान फागुनको १३ गते समापन गरिने प्राचार्य गर्बुजाको भनाई छ ।

हालसम्म न्युनतम १ सय रुपैयाँदेखि धेरै रकम सहयोग गर्नुहुनेमा अमेरिकामा बस्नुहुने बिम गाउँका बिजय जुग्जालीले ११ लाख ११ हजार १११ रुपिँया, हङकङमा रहनुभएका दल शेरबुजाबाट ६ लाख रुपैयाँ, अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जाली र दल जुग्जालीबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ रहेको छ । बिम गाउँका ३ सय घरधुरीले नै यो अभियानमा सहयोग गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका बिमबासीको प्रयासले गाउँलेको एकता र सहकार्यलाई झल्काएको किसानी सञ्जीवनी अक्षयकोषका संयोजक कृष्ण जुग्जालीले बताउनुभयो ।

‘आर्थिक हैसियत अनुसार सहयोग गर्नुभएको छ, अब हामीले बिम गाउँमा प्राविधिक शिक्षालाई निःशुल्क शिक्षाका लागि सबैतिरबाट विद्यार्थीलाई आउन अनुरोध गछौं’ संयोजक जुग्जालीले भन्नुभयो । अभियानको घोषणा सहितको अभियान आगामी नयाँ बर्ष बैशाख १८ गते बिममा हुने संयोजक जुग्जालीले बताउनुभयो ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान,पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ। बिममा बि.स २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पढाइ सुरु भएको थियो।

अहिले यहाँ २१ जिल्लाका १५० जना विद्यार्थी अध्ययनरत छन् । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पढाइ हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन्।

देशका विभिन्न जिल्लामा सञ्चालन खर्च समेत जुटाउन नसकिरहेको कृषि प्राविधिक शिक्षालयका बिच पश्चिम म्याग्दीमा रहेका किसानी कृषि प्राविधिक शिक्षालयमा भने देशभरबाट पढ्न आउने र रोजगारीका लागि समेत धमाधम सिफारिस भइरहेका छन्।

कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरू उत्पादन गरी बजारमा बेच्ने समेत गरिएको छ। कृषि प्राविधिक शिक्षालयको स्थापना यहाँ विद्यार्थी र शिक्षकहरुकै प्रयासमा उत्पादन भएको बस्तु बिक्री गरी विद्यार्थीले आफ्नो खर्च चलाउने गरेका छन्।

 

Leave a Reply