म्याग्दीको बेनी नगरपालिका-७,लक्ष्मीनाराण टोल विकास समितिका तत्कालिन अध्यक्ष अविरकुमार श्रेष्ठले बलमुक्तेश्वर शिवालय मन्दिरको महत्वपूर्ण जग्गा अतिक्रमण भएको गुनासो गर्न लागेको बषौं भयो तर खोजीकार्य भएको छैन । आफ्नै आँखाले देखेको मन्दिरको जग्गा २ रोपनी ५ आना बढी जग्गा चार दशक यता खुम्चिएर अहिले १ रोपनी ४ आनामा झरेको छ ।

मानव बस्तीको विस्तारसँगै बेनीबजारबासीले वि.सं १९०७ साल वैशाख ३ गते निर्माण भएकोमन्दिरमा राखिएको घण्टीमा कुँदिएको अभिलेखमा देखिन्छ। मन्दिर आसपासका क्षेत्रमा बस्ती विस्तारसँगै बि.स २०४० साल यता जग्गा अतिक्रमण भएको अगुवा श्रेष्ठको भनाई छ । ‘मन्दिरको जग्गा खोज्नुपर्छ, जग्गा घटेको घट्यै छ’ अगुवा श्रेष्ठले भने ।

त्रिदण्डी स्वामी हिमालय बाबाको स्वागतमा आयोजित कार्यक्रममा मन्दिरको जग्गा संरक्षणमा सरोकारवाला निकायको भूमिका कमजोर भएको स्थानीयबासीको गुनासो थियो ।

यता बलमुक्तेश्वर शिवालय व्यवस्थापन समितिका अध्यक्ष पहलबहादुर खत्रीले ऐतिहासिक तथा पुरातात्विक महत्वको मन्दिर व्यवस्थापनका लागि गुठीको जग्गा खोजीमा लागेको बताए । ‘मन्दिरको नाममा हुनुपर्ने दुई सय रोपनीभन्दा बढी जग्गा हो, सामुदायिक संस्थाले प्रयोग गरेका बाहेक पनि धेरै जग्गाहरू हराएको छ’ अध्यक्ष खत्रीले भने । उनले मन्दिरको जग्गा व्यक्तिले भोगचलन गर्दै आएको अवस्थामा कानुनी प्रक्रियामा जाने तयारीमा रहेको बताए ।

‘मन्दिरको जग्गा धेरै भए पनि त्यसबाट आम्दानी भने शून्य छ,‘अब व्यक्तिगत किनबेच र अतिक्रमणलाई रोक्नुपर्छ’ अध्यक्ष खत्रीले भने । खत्रीले बेनी नगरपालिकामा खोजीकार्यका लागि अनुरोध सहितको निवेदन दिएकोमा समुदायले नै हस्तान्तरण गरेको जिल्लाको पहिलो म्याग्दी बहुमुखी क्याम्पसको ४५ रोपनी २ आनासँगै बेनी नगरपालिका–९ तीनमानेमा ५ रोपनी र जलजला गाउँपालिका पर्वतमा १६५ रोपनी गुठी रहेको दावी गरिएको छ ।

स्थानीय समुदायले म्याग्दी बहुमुखी क्याम्पसको जग्गा समुदायकै पहलमा हस्तान्तरण भएकाले बहसलाई प्राथमिकता नदिने बताएका छन् ।म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले भने शिवालय गुठीको जग्गा प्रयोग गरेको भएर लक्ष्मीनारायण मन्दिरलाई वार्षिक रुपमा १२ हजार उपलब्ध गराउँदै आएको बताए ।

यता बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्दिरको जग्गा खोजी र संरक्षणमा प्रतिबद्ध रहेको बताए। ‘प्रमाणहरू खोज्नुपर्छ, हामीले बोलेर भन्दा पनि प्रमाणसहित प्रक्रियामा जानुपर्छ’ अध्यक्ष श्रेष्ठले भने । उनले लक्ष्मीनाराण र बलमुक्तेश्वर शिवालय मन्दिर एकै ठाउँमा भएकाले संरक्षणका लागि नगरपालिका सक्रिय रहेको बताए । तत्कालिन समयमा धीर समशेरले निर्माण गरेर निजी गुठी बनाएकोमा मन्दिरको व्यवस्थापन तथा जीर्णोद्धार खड्गबहादुर कुँवर राणाबाट भएको बताइन्छ ।

Leave a Reply