* धवलागिरी, रघुगंगा, मालिका र अन्नपूर्णमा रोयल्टी बढ्ने
* केहीबर्षमा केन्द्रिय प्रशारण लाइनमा झण्डै ४ सय मेगावाट बिजुली थपिने
* मोटरबाटोको कल्पना नगरेका स्थानीयलाई मोटरबाटो
* डोरीमा झुन्डिएर यात्रा गर्दै आएका खाम्ला, नाउरा, जेल्टुङ गाउँमा सडक पु
* स्थानीयबासीले रोजगारी, कृषि उपजका साम्रागी बिक्री गर्न थाले
* म्याग्दी जलविद्युतको हब बन्दै
म्याग्दीमा जिल्लाका विभिन्न नदीहरूमा जलविद्युत् आयोजना धमाधम निर्माण चरणमा छन् । जलविद्युतको प्रचुर सम्भावना भएका नदीहरूमा म्याग्दी खोला, राहुघाट र मिस्त्री खोलामा अहिले आयोजना बन्ने लहर चलेको हो । जलविद्युत् आयोजनामा स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट लगानी हुन थालेपछि अन्य स्वदेशी लगानीकर्ता पनि उत्साहित हुदै प्रबद्र्धनमा जुटेका छन् ।
उत्तरी म्याग्दीको अन्नपूर्ण–४ स्थित ४२ मेगावाटको मिस्त्री खोला, ७१ मेगावाटको नीलगिरी क्यास्केट (एन–२), ४ मेगावाटको घलेम्दी खोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना गरी १ सय ११ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
अहिले म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरू भएको छ। धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एकसय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरू भएको छ। ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पूर्वाधार सुरू गरेको छ भने हाइड्रो भिलेज प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ ।
त्यसैगरी हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरूङ निर्माण सुरु गरेको छ । पश्चिम म्याग्दीकै प्रवेशद्धार मानिने मालिका गाउँपालिका–६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाको सुरूङ सहितका संरचनामा काम भइरहेको छ ।त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण–४ स्थित ४०.७ मेगावाट क्षमताको नीलगिरी पहिलो (एन–१) र ६ मेगावाट क्षमताको रेले खोला आयोजना अन्तिम चरणमा छन् ।
रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, ३७.५ मेगावाटको मंगले राहुघाट, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना र सबैभन्दा माथि २२.५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजनाले ७० देखि ९५ प्रतिशतसम्म भौतिक प्रगति गरेका छन् ।
बेनीदेखि मुस्ताङ सीमावर्ती घाँसासम्मको ३७ किमि खण्डमा बग्ने कालीगण्डकी नदीमा १ सय ६४ मेगावाटको कालीगण्डकी गर्ज, ५० मेगावाटको मध्यकालीगण्डकी, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपरकालीगण्डकी तथा ५०.५३ मेगावाटको बेनी कालीगण्डकी गरी करिब ३ सय ८८ मेगावाट क्षमताका आयोजना विद्युत् विकास विभागसँग खरिद सम्झौता गरी निर्माण प्रक्रियामा छन् ।
त्यस्तै पश्चिम म्याग्दीको म्याग्दी नदी र सहायक गुर्जाखोला र मुदी खोलामा विभिन्न आठवटा जलविद्युत् आयोजना दर्ता भएकोमध्ये तीनवटा आयोजनाको निर्माण काम अघि बढेको छ ।
म्याग्दीको ६ स्थानीय तह अन्तरगत अन्नपूर्ण, रघुगंगा र धवलागिरी गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका जलविद्युतले उत्पादन सुरूसँगै पालिकाको आन्तरिक आम्दानी समेत ह्वात्तै बढ्ने छ । ‘हाम्रो पालिकाबाट आयोजनाबाट रोयल्टीसमेत आउन थालेको छ, अबको केही बर्षमा आन्तरिक आम्दानीले विकास निर्माणका कार्यमा सहज हुन्छ’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भने ।
उनका अनुसार अब दुईवटा आयोजना समेत अन्तिम चरणमा रहेको बताए । यता धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले दर्ता रहेका जलविद्युत आयोजनालाई समेत स्थानीयको माग पूरा गदैं निर्माण चरणमा प्रवेश गर्न समेत अनुरोध गरिएको बताए ।
‘आन्तरिक आम्दानी न्यून छ, हामीले दर्ता भएकालाई समेत कानुनी प्रक्रिया पूरा गरी आएमा सघाउँछौ, यो क्षेत्र पर्यटन र जलविद्युतको हब हो’ अध्यक्ष पुनले भने । मुदीमा जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढेसँगै दुर्गम बस्तीमा सडकको पहुँच विस्तारमा समेत सघाउ पुगेको छ ।
झुन्डिएर यात्रा गर्दै आएका मुदीको दुर्गम बस्तीको रूपमा रहेका खाम्ला, नाउरा, खिबाङ बगरलगायतका बस्तीमा सडकको पहुँच पुगेपछि स्थानीयको दैनिकी समेत फेरिएको छ ।
आयोजनामा स्थानीय जनशक्तिलाई समेत प्राथमिकता दिएर काममा अवसर दिन र सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कार्यलाई प्रभावकारी बनाउन समेत गाउँपालिकाको पहलमा आयोजना पक्षले समेत सहज स्वीकार गरेको अवस्थामा समुदायस्तरबाट समेत अवरोध नभएको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तिले बताए ।
जलविद्युत आयोजना प्रवेश गरेको रघुगंगा गापाभित्रका अति विकट तथा राज्यको निकायबाट प्राप्त बजेटले समेत पूर्णता नपाउने सडकहरू सहज रुपमा निर्माण भएको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले भने । उनका अनुसार जलविद्युत आयोजनाले समुदायस्तरमा दुख दिएका घटनाहरुमा सचेत गराइएको र निर्माणकार्यमा समेत सघाएको बताए ।
‘अटेरी आयोजनालाई हामीले कडाई गरेका छौ, स्थानीयको माग पूरा नगर्नेलाई सबै दबाब दिन्छौ, साथमा लिएर जानेलाई प्रोत्साहन र साथ भइरहेको छ’ अध्यक्ष भण्डारीले भने । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका अधिकांस आयोजनाले पहुँचमार्ग, क्याम्प साइटलगायतका पूर्वाधार निर्माण सकेर बाँध र विद्युत गृहबाट सुरूङमा प्रवेश गरेका छन् । तस्वीर रासस र बेनीअनलाइन