आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको पहिलो प्रकाशन धौलागिरी जागरण दैनिकको १८ औं वार्षिकोत्सव म्याग्दी जिल्लाको पर्यटकीयस्थल टोड्केमा सम्पन्न भएको छ ।

स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान गर्न तथा स्थानीय स्रोत साधनको पहिचान र प्रचारमा सहयोग गर्ने उद्देश्यका साथ धौलागिरी जागरण दैनिकको वार्षिकोत्सव विगत १२ वर्षदेखि बागलुङ सदरमुकाम भन्दा बाहिर मनाउने क्रममा यस पटक टोड्केलाई गन्तव्य बनाइएको छ ।

धौलागिरीका पर्यटकीय संभावना बोकेका क्षेत्रलाइै उजागर गर्ने, प्रचार प्रसार तथा समाचार संकलन गर्ने उदेश्यले म्याग्दीको टोड्केमा वार्षिकोत्सव मनाइएको सम्पादक राम बहादुर जिसीले जानकारी दिनुभयो । यो वर्ष आदर्शका १०० पर्यटकीय गन्तव्य समेत सार्वजनिक गरेको बताउदै वर्षभरी उक्त गन्तव्यमा पुगेर आदर्शका प्रकाशनबाट प्रचार प्रसार गर्ने बताउनुभयो।

बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको टोड्केमा वार्षिकोत्सव मनाइएको छ ।
टोड्केको प्रचार–प्रसार र पर्यटनको विकासका लागि स्थानीय पालिका रघुगंगा गाउँपालिका र टोड्के हिल रिसोर्टको संयोजनमा वार्षिकोत्सव कार्यक्रम मनाइएको हो ।

वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाले पत्रकारिता मार्फत पर्यटनको प्रर्बद्धनमा जागरणले ल्याएका कार्यक्रम पृथक भएको बताउनुभएको छ । पर्यटनलाई क्षेत्र बनाएर एक दशक भन्दा बढी समयदेखि कलमलाई केन्द्रित गर्नु उदाहरणीय कार्य भएको बताउनुभएको छ । संकटपूर्ण समयबाट उदाएको जागरण दैनिक १९ वर्ष सम्म अनवरत रुपमा आफ्नो कलम चलाउदै आउनु मोफसलको पत्रकारितका लागि आफैमा इतिहास भएको बताउनुभएको छ ।

“१८ वर्षको अवधिमा बागलुङमा धेरै मिडिया सञ्चालनमा आएपनि निरन्तरता सबैभन्दा ठूलो कुरा रहेछ, यसपटकबाट जागरणले पर्यटन कोषको विषयमा पुरस्कार दिनेगरी कोष समेत घोषणा गर्नु आफैमा उदाहरण हो” थापाले भन्नुभयो “तडक भडकपूर्ण वार्षिकोत्सवलाई अन्त्य गर्दै पर्यटकीय स्थलको प्रचार–प्रसार संगै दुर्गम क्षेत्रमा पुगेर वार्षिकोत्सव मनाउने कार्यले स्थानीय पर्यटन व्यवसायीलाई उत्साहित गरेको छ ।“

कार्यक्रममा मंगला गाउँपालिकाका प्रवक्ता एकजित रोका, रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मन बहादुर शेरमन्जा, दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, टोड्के हिल रिसोर्टका सञ्चालक भिम शेरचन, प्रेस चौतारी गण्डकी प्रदेशका सचिव बालकृष्ण सुवेदी, प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगर र प्रगतिशिल पत्रकार संघ बागलुङका अध्यक्ष बिजय रानाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा धौलागिरीका २८ पालिकाका १०० पर्यटकीय गन्तव्य सार्वजनिक समेत गरिएको थियो ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अन्जु)को अध्यक्षता, संस्थाका सह–सम्पादक सिर्जना पन्तको स्वागत तथा सम्पादक राम बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

धौलागिरी क्षेत्रमा पहिलो सूचना तथा सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले १९ वर्षदेखि धौलागिरी जागरण दैनिक, १२ वर्षदेखि अग्रसर साप्ताहिक, ६ वर्षदेखि आदर्श सञ्चार अनलाइन सञ्चालन गर्नुका साथै ११ वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

 

Leave a Reply