म्याद गुज्रिएका पेय पदार्थ बजारमा छ्यापछ्याप्ती

म्याग्दीको सदरमुकाम बेनीबजार तथा ग्रामिण क्षेत्रमा गरिएको अनुगमनमा अत्याधिक मात्रामा म्याद सकिएका अखाद्य पेयपदार्थहरु भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा सहकार्यमा संयुक्त रुपमा भइरहेको बजार अनुगमनमा अन्य खाद्यान्न साम्रागीको तुलनामा म्याद गुज्रिएका पेय पदार्थ धेरै भेटिएबको छ ।

धवलागिरि गाउँपालिका–३, मुना र ७ नम्बर वडा धारापानीका १४ वटा किराना तथा खाद्यान्न पसल, २ वटा होटल र रेष्टुरेण्टमा अनुगमन गरी कुल २५ हजार सातसय ९० रुपैयाँ बराबरको म्याद सकिएका पेर्यपदार्थ र खाद्यवस्तुहरु जफत गरी नष्ट गरिएको थियो ।

यसअगाडी बेनी नगरपालिका, मंगला र मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा गरिएको अनुगममा समेत अन्य बस्तु सरह ठूलो परिमाणमा उपभोग गर्ने म्याद सकिएका कोकाकोला, स्प्राईट, मिरिण्डा, फेन्टालगायत पेयपदार्थहरु भेटिएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख अमृतप्रसाद कँडेलले बताए । दैनिक उपभोग्य सामानहरुको प्रयोगको अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले बताइन् ।

अनुगमनको क्रममा पसलभित्र म्याद सकिएका सामानहरु बिक्री गर्न टाँसीमा राखेको, मूल्यसूची नटाँसेको, साइनबोर्डहरु नराखेको, एउटा नामको पसल दर्ता गरेर अर्को कारोबार गरेको, पसल दर्ता र नवीकरण नगरेको जस्ता कमी कमजोरीहरु भेटिएका थिए । पोखरा, बेनी र ग्रामिण क्षेत्रमा रहेका पसल र डिलर तथा गाउँगाउँमा सामान बिक्री गर्न लैजाने व्यापारीहरुले म्याद सकिएका सामानहरु ग्रामीण भेगमा लगेर बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

अनुगमनमा भेटिएका कमजारीहरुलाई सुधार गर्न र कानुनी प्रक्रिया पुरा गरेर मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ । संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुमगन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ। तर, फितलो बजार अनुगमन र कमजोर कारबाही प्रक्रियाका कारण केही व्यवसायीहरुले मनोमानी ढंगले उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष खेलबाट गरिरहेका छन्।

 

 

Previous articleकार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका देशैभरमा द्वितीय, गण्डकी प्रदेशमा प्रथम
Next articleउत्तरगंगा माविमा गरिमा विकास बैंकको वित्तिय सचेतना कार्यक्रम