आगामी आर्थिक वर्षमा कृषिसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नका लागि म्याग्दीमा आइतबार सुझाव सङ्कलन भएको छ । गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय, बाली संरक्षण प्रयोगशाला र पशु सेवा तालिम केन्द्रमार्फत सुझावहरु सङ्कलन गरिएको हो ।
कृषि ज्ञान केन्द्र म्याग्दीमा आयोजित कार्यक्रममा मन्त्रालय अन्तर्गत विभिन्न निकायबाट आएको टोलीले जिल्लास्थित बेनी नगरपालिका र जिल्लाका किसानहरुबाट सुझाव तथा राय सङ्कलन गरेको जनाएको छ । कार्यक्रमबारे जानकारी गराउँदै बाली संरक्षण प्रयोगशालाका प्रमुख शालिकराम अधिकारीले चालु आवमा सञ्चालित कृषि कार्यक्रमको समीक्षासहित आगामी वर्ष सञ्चालन हुने कार्यक्रमबारे सुझाव सङ्कलन गरिएको बताउनुभयो ।
कार्यक्रममा सहभागी म्याग्दीका किसानहरुले कृषि उपजलाई बजारीकरण गर्नका लागि सडकको पहुँच विस्तार तथा स्तरोन्नति गर्नुपर्ने, सुन्तलाजात फलफुलहरुलाई बाह्रै महिना सिँचाइको व्यवस्था मिलाउनुपर्ने, किसानहरुको वर्गीकरण गर्नुपर्ने, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमबाट पाउनुपर्ने अनुदानलाई निरन्तरता दिनुपर्ने, पाडापाडीसहित राँगो पालेका किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, भूगोल र जनसङ्ख्यालाई आधार मानेर कृषिसम्बन्धी नीति तथा कार्यविधिहरु निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।
यसैगरी किसानहरुलाई कृषि पेशामा टिकाउन सक्ने उपायहरु अबलम्बन गर्नुपर्ने, बसाइसराइलगायत कारणले गाउँहरु रित्तिँदै गएकाले किसानलाई गाउँमै बस्ने वातावरण बनाउनुपर्ने, बाहिरी जिल्लाबाट विभिन्न व्यापारीहरुले ल्याउने उत्पादनलाई रोकेर स्थानीय किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने, परम्परागत सिँचाइ प्रणालीलाई परिवर्तन गर्नुपर्ने, विषादी र कम्पोष्ट मलको प्रयोगबारे जानकारी गराउनुपर्ने, खाली तथा पाखो जग्गा उपयोग गर्ने नीति ल्याउनुपर्ने, किसानलक्षित सडक तथा विद्युतका पूर्वाधारको विकास गर्नुपर्ने, किसानहरुको वास्तविक समस्या र आवश्यकता बुझेर कार्यक्रम बनाउनुपर्ने, बजेटलाई एकीकृत गरेर विनियोजन गर्नुपर्ने जस्ता सुझावहरु दिइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य गमबहादुर श्रीषले किसानलाई लाभ पुग्ने र सजिलै कार्यान्वयन हुने खालका नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले वडास्तरबाटै बजेट तथा कार्यक्रम बनाउँदा सिँचाइ तथा उत्पादनसम्बन्धी विषयलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाभन्दा बाहिरबाट आउने जुनसुकै उत्पादनलाई रोक्न सकिने बताउँदै यसका लागि किसानहरु स्वयंले पहल गर्नुपर्ने बताउनुभयो । कृषि र पशुतर्फ वडास्तरमा प्राविधिक जनशक्तिको अभाव रहेको बताउँदै उहाँले कृषि बिमाको समस्या सुधार गर्न तथा सिँचाइका लागि वैकल्पिक उपायहरु अपनाउन आवश्यक विधि निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
पशु सेवा तालिम केन्द्रका प्रमुख डाक्टर गृष्म न्यौपानेले किसान दाजुभाइहरुले गरेको मागअनुसार कृषिका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक बालकृष्ण अधिकारीले वार्षिक स्वीकृत कार्यक्रम नभई कृषिसम्बन्धी कार्यक्रमहरुमा संशोधन र परिमार्जन गर्न आवश्यक देखिएकाले मन्त्रालयमार्फत सुझाव सङ्कलन गर्न थालिएको बताउनुभयो । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाको कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले कार्यक्रमहरुको सङ्ख्या बढाएर कृषकलक्षित कार्यक्रम बढाउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागी जिल्लाका किसानहरु तिलक गुरुङ, कमल पौडेल, सोवित शर्मा, नरबहादुर थापा, धनबहादुर श्रीष, कोपिलाल पौडेल र नमस्ते कृषि सहकारी संस्थाका प्रवन्धक जोगराज भण्डारीले आ–आफ्नो धारणा व्यक्त गर्दै दीगो रुपमा कृषि पेशा गर्ने खालको आवश्यक नीति ल्याउन माग गर्नुभयो । उहाँहरुले किसानलाई राजश्वमा छुट दिनुपर्ने बताउँदै किसानले तत्कालै कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो ।