म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनका लागि चार विद्यार्थी संगठनले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् ।
नेपाल विद्यार्थी संघबाट सभापति संगम चोखाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट सभापति दिनेश खत्री, अखिल क्रान्तिकारीबाट सन्दिप खत्री र अखिल नेपाल विद्यार्थी यूनियन समाजवादीबाट मनिषा दर्जीले सभापतिमा उम्मेदवारी दर्ता भएको क्याम्पस निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र विप्लप नेतृत्वको नेकपाका विद्यार्थी संगठनहरु चुनावी मैदानमा छन् ।
भोलि (फागुन २८ गते) उम्मेदवारको नामावली उपर दाबी विरोध हुनेछ। भोलि नै दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ। आगामी चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ ।
बि.स २०७९ सालमा स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरुकाबीच विवाद भएपछि स्थगित भएको थियो । क्याम्पस प्रमुख श्रीधर सुबेदीले निर्वाचनका सम्पूर्ण प्रक्रियाहरु कार्यतालिका अनुसार नै अगाडी बढेको बताउनुभयो ।