म्याग्दीको मालिका गाउँपालिका-६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि एकेडेमी फुट मेला संचालन गरेका छन् । विद्यालय परिसरमा राखिएका विभिन्न परिकारका खानाका स्वाद लिन अभिभावकको घुइँचो लागेको हो ।
एकै ठाउँमा विभिन्न थरीका परिकारका स्वाद लिन पाउँदा छुट्टै खालको रमाइलो महसुस गरेको अनुभव अभिभावकको थियो। परिकारको स्वाद लिने, बनाउने र बिक्री गर्ने मात्रै नभई हेर्न जानेको समेत थियो ।
विद्यार्थीलाई खानाका परिकार बनाउने, खाना बनाउँदा ध्यान दिनुपर्ने टिप्स समेत दिइएको थियो । ७ वटा स्टल रहेको महोत्सवमा विभिन्न परिकार फरक फरक स्टलमा राखिएको थियो । विद्यालयका प्रिन्सिपल बिमल शर्माका अनुसार कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागिता र क्रियाशिलतामा प्रयोगात्मक तथा सिर्जनात्मक खाना महोत्सव सम्पन्न गरिएको हो ।
उहाँका अनुसार परिकारका बारेमा समेत स्टलमा आउनेलाई देखाइएको थियो भने अतिरिक्त क्रियाकलापले समेत विद्यार्थीको क्षमता बढाउन उक्त मेला आयोजना गरिएको हो ।
उक्त परिकार बनाउन लाग्ने सबै सामान विद्यार्थीहरुले नै जुटाएका हुन् । पठनपाठन बाहेक घरायसी काममा अभिभावकलाई सघाउने विभिन्न गतिविधिलाई विद्यालयले अतिरिक्ति क्रियाकलाप अन्तरगत समेट्ने गरेको छ । खाना पकाउने, अभिभावक र अवलोकन गर्न गएकालाई दिने देखी भाडा माझ्ने काम समेत विद्यार्थीले गरेका थिए ।