नेपाली रैथाने प्रजातिको भोटे कुकुर अब विश्वका विभिन्न कुकुरहरुको संस्थामा दर्ता हुने भएको छ । भोटे कुकुरको संरक्षणमा जुट्दै आएको भोटे कुकुर क्लब अफ नेपालको पहलमा अन्तर्राष्ट्रिय किन्ले क्लब (आइकेसी) ले बुधबार भोटे कुकुरलाई छुट्टै जातको रुपमा मान्यता दिएको भोटे कुकुर क्लब अफ नेपालका अध्यक्ष विजय पौडेलले जानकारी दिए ।

मान्यता पाएसँगै अन्य अन्तर्राष्ट्रिय केनेल क्लबहरू वल्र्ड केनेल युनियन, फेडेरेसन साइनोलोजिक इन्टरनेशनललगायतका संस्थाहरुमा पनि आधिकारिक मान्यता दिलाउनका लागि प्रक्रिया सुरु भएको विजयले बताए । यसले भोटे कुकुरप्रतिको चासो र समर्थनमा उल्लेखनीय वृद्धिको उनको भनाइ छ ।

भोटे कुकुरको संरक्षण तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान दिलाउने उदेश्यका साथ माघ १९ गते पोखरा ६ लेकसाइड बाराहीघाटमा भोटे कुकुर प्रदर्शन मेला सम्पन्न गरिएको थियो । प्रदर्शनीले भोटे कुकुरप्रति मानिसहरूबीच चासो र माया अभूतपूर्व रूपमा बढेको पाइएको अध्यक्ष पौडेलले सुनाए । उक्त मेलाले संरक्षण र प्रवद्र्धनमा ठूलो योगदान पुर्याएको र आगामी दोस्रो संस्करण ढोरपाटनमा गर्ने योजना रहेको उनको भनाइ छ ।

‘अब हामी अन्तर्राष्ट्रिय रुपमा पनि दर्ज भएका छौं । भोटे कुकुर संरक्षण र प्रबद्र्धनका लागि पोखरामा भएको एक दिने प्रदर्शनीले ठूलो भूमिका खेल्यो अब दोस्रो संस्करण हामी ढोरपाटनमा गर्न चाहन्छाँै । हामीले ढोरपाटन नगरपालिकासंग सहकार्य गरेर जाने योजनामा छौं ।

आशा छ, उहाँहरुले भोटे कुकुरको प्रबद्र्धनमा सहयोग गर्नुहुनेछ,’ उनले भने, ‘नगरपालिकाले अहिलेसम्म कुनै विशेष चासो व्यक्त गरेको छैन ।

हामी निरन्तर पहलमा छौं । यो नेपालका लागि पनि गौरवको विषय हो । आइकेसीबाट प्राप्त मान्यताले भोटे कुकुरलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने मार्ग खोलिदिएको छ, जसले आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय केनेल क्लबहरूबाट मान्यता प्राप्त गर्ने प्रक्रियालाई अझ सहज बनाएको छ ।’ भोटे कुकुरलाई विश्वव्यापी रूपमा स्थापित गर्न क्लबले निरन्तर पहल गरिरहेको छ । dhorpatannews

Leave a Reply