यसरी गर्छ नेपाली सेनाले विपद व्यवस्थापन (फोटो/भिडियो)

म्याग्दीको मंगला गाउँपालिकामा शनिबार गण्डकी प्रदेशस्तरीय संयुक्त बृहत बिपद् प्रतिकार्य नमुना अभ्यास गरिएको छ । पश्चिम पृतना हेडक्वाटर पोखराको निर्देशनमा २३ नम्बर बाहिरी अड्डा बागलुङबाट मंगला गापा वडा नं २ लाम्पाटा र वडा नं ५ हाँडेभीरमा प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी जस्ता विपदका घटनामा उद्धार, खोज तथा राहत वितरणको नमुना अभ्यास गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नमुना अभ्यासको उद्घाटन गदै विपद् व्यवस्थापनलाई नेपाली सेना सहित सुरक्षा निकायको भूमिकाको प्रशंसा गर्नुभयो । मुख्यमन्त्री पाण्डेले विपद् पुर्वको तयारी, विपद्को अवस्थामा गरिने प्रतिकार्य तथा विपद् पश्चात राहत र पुर्नस्थापनाको कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।

‘गण्डकी प्रदेश अन्य प्रदेशको तुलनामा उच्च जोखिममा रहेकाले सुरक्षा निकायसँगै स्थानीय तहका जनप्रतिनिधिमा विषेश सचेतना हुनुपर्छ, हामीले समुदायस्तरमै विपद् सचेतनामा जोड दिएका छौ’मुख्यमन्त्री पाण्डेले भने ।

मंगला गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले विपद्को पूर्व अभ्यासले क्षती न्यूनिकरण हुने भन्दै गाउँपालिका केन्द्र बाबियाचौर आसपासका क्षेत्र म्याग्दी नदीको कटानको जोखिममा रहेकाले बजेट विनियोजनमा प्राथमिकता दिन अनुरोध गदैं गाउँपालिकाको समस्या जानकारी गराइन् ।

विपद् बाजा बजाएर आउँदैन, पूर्व तयारी गरौं, विपद्बाट बचौँ भन्ने नारालाई हरेक सर्वसाधारणलाई जानकारी दिने गरी तालिम सञ्चालन गर्नुपर्ने बताइन् ।

पश्चिम पृतनापति उपरथी मधुकरसिंह कार्कीले बिपत्तीको समयमा आफ्नो व्यक्तिगत स्वास्र्थभन्दा पनि देशको हितका लागि सेनाले अगुवाइ गर्ने बताएका थिए भने कार्यक्रममा २३ नम्बर बाहिनी बागलुङका बाहिनीपति सहायकरथी जगतबहादुर पौडेलले समुदायस्तरमा ८ वटा सामुदायिक विपद् प्रतिकार्य तालिम र १२ वटा सामुदायिक जनचेतनामुलक कार्यक्रम २२ सयभन्दा बढी स्थानीय लाभान्वित भएको जानकारी गराए ।

नमुना अभ्यासको अवलोकनका लागि प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्री, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायत जिल्लाका सुरक्षा निकाय, सरकारी निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

नेपाली सेनाले भुकम्पपछिको क्षती र उद्धार, बाढीले बगाएका, रसिको सहायताले नदी किनारमा फसेका, डोरिमा झुण्डिएर नदीको बिच भागमा फसेका, ¥याफटिङको सहायताले उद्धार,डुबेकाको उद्दार, सडक दुर्घटनामा खोज तथा उद्धार, सामुुहिक क्याम्पमा आगजनी, प्राथमिक उपचार तथा राहत वितरण पुर्नबास गरी १० प्रकारको डेमो गरिएको थियो ।

नेपाल उच्च विपदमा खट्नका लागि दक्ष जनशक्ति भए पनि सीमित स्रोत साधानका आधारमा कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै आइरहेको सुरक्षा निकायसँगै सर्वसाधारणलाई समेत सक्षम बनाउनुपर्नेमा जोड दिइएको थियो ।

Previous articleखानी दर्ता गरेर स्लेट तथा ढुङ्गा उत्खनन गर्न पाइने
Next articleसहयोग जुटाएर म्याग्दीका दुई प्रमुख पर्यटकीयस्थलको म्याप सार्वजनिक