ब्राह्माण समाज नेपाल म्याग्दीले आफ्नै भबन बनाउन आर्थिक संकलन अभियान सञ्चालन गर्ने भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको चौथो साधारणसभाबाट भौतिक पूर्वाधारका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संस्था स्थापनाको १३ बर्षसम्म नियमित गतिविधिमा केन्द्रित भएको समाजले अब आफ्नै समाज घर बनाउने सहयोगीहरू माझ पुग्ने सचिव हरिप्रसाद पौडेलले बताए ।
म्याग्दीमा विभिन्न सामाजिक तथा जिल्लास्तरीय कार्यक्रममा सक्रिय सहभागिता जनाएको समाजले संस्थागत विकासमा विभिन्न निकायहरु तथा समाजका सदस्यहरुबाट सहयोग जुटाएर अभियानको थालनी गर्ने अध्यक्ष गौतमको भनाई छ । चौथो साधारणसभाको उद्घाटन गदैं प्रतिनिधिसभा सदस्य गोविन्द पौडेलले आफ्नो आर्थिक, भौतिक र नैतिक सहयोग रहने प्रतिबद्धता जनाए ।
सोही अवसरमा केन्द्रिय सदस्य नारायणदत्त सुबेदी, सल्लाहकार ब्रहामण समाज महिला समिति रन्जता सुबेदी, सल्लाहकार बालकृष्ण सुबेदी,सोमनाथ ढुंगाना, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मी,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले संस्थागत विकासका लागि योजनाबद्ध तरिकाले अगाडी बढ्नुपर्नेमा जोड दिए । साधारणसभामा बोल्न बक्ताले धर्म र संस्कार नभएको मानिस अनुशासनहीन हुने बताएका थिए । समाजका तर्फबाट गोविन्द सुबेदीले बाह्मणसमाजसँग सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
साधारणसभामा समाजका गतिविधिमा सक्रिय सहभागिता जनाएका धौलागिरी भजन समुह, जडभरत शालग्राम गण्डकी संस्कृत मावि, बाह्मण समाज बरंजा इकाई, भजन समुह, कमला पौडेल, नहकुल ढकाल,जयन्ती सुबेदी आचार्य, बाल मादले सौरब सुबेदी, मन्दिरा पौडेल, टिकाराम आचार्यलाई कदरपत्रले सम्मान गरिएको थियो । समाजका अध्यक्ष लिलाराम गौतमको अध्यक्षता, उपाध्यक्ष ठाकुरप्रसाद शर्माको स्वागत र सचिब सचिव हरिप्रसाद पौडेलले कार्यक्रमको सञ्चालनमा सम्पन्न भएको थियो । ब्राह्मण समाजले जिल्लास्तरीय भजनर्कितन,रत्यौली सहित विभिन्न प्रतियोगितामा समेत उपाधी जितेको छ भने म्याग्दीका सबै पालिकाका समाजको गठन तथा विस्तारलाई तिब्रता दिएको छ।