पत्रकारलाई घुम्ती शिविरबाट प्रेस पास वितरण तथा तालिम सञ्चालन

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा आइतबारदेखि दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी विषयमा तालिम सुरु भएको छ । सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

दुर्गम अर्थात् मोफसलमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिम आयोजनासँगै सूचना तथा प्रसारण विभागद्वारा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता सम्बन्धी घुम्ती शिविर पनि सञ्चालन गरिएको छ । म्याग्दीसहित बागलुङ, पर्वत, बागलुङ र मुस्ताङलाई लक्षित गरी तालिम र शिविर चलाइएको हो ।

तालिम तथा घुम्ती शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले विगतको समयमा काठमाडौं पुगेर लिनुपर्ने प्रेस प्रतिनिधि प्रमाणपत्र शिविरमार्फत जिल्लामै आएको हुँदा भरपुर उपयोग गर्न सहभागी पत्रकार तथा सञ्चारकर्मीहरुलाई सुझाव दिनुभयो ।

उहाँले पछिल्लो समय बढ्दो प्रविधिसँगै पत्रकारिता क्षेत्रमा पनि चुनौतीहरु थपिएको हुँदा पत्रकारले आफूलाई समयानुकुल परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोगमा पत्रकारिता क्षेत्रबाट अगाडि बढ्न सकिने भएकाले सकारात्मक हिसाबले सुरुवात गर्नुपर्ने उहाँको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्रले सुशासन तथा बजार अनुगमनसहित आम नागरिकको हक, अधिकारसँग सम्बन्धित विषयहरुलाई उजागर गर्नुपर्ने बताउनुभयो ।

तालिमका प्रमुख प्रशिक्षक एवं विषय विज्ञ डाक्टर विजयप्रसाद मिश्रले विगतमा पत्रकारले मात्रै पत्रकारिता गर्ने गरेकोमा अहिले नागरिकले समेत पत्रकारिता गर्ने भएकाले पत्रकारहरु सचेत भएर आफ्नो कर्म क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेलले पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारलाई सोही पेशमा टिकाउन समस्या भैरहेको हुँदा राज्यले पनि आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्रले सत्य, तथ्य र सन्तुलित सूचना तथा जानकारीहरु सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

सूचना तथा प्रसारण विभागका निर्देशक पूर्णिमा उपाध्यायले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको पेशागत क्षमता वृद्धि र जिल्लामा प्रेस पास वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ताको शिविर ल्याइएको बताउनुभयो ।

तालिमको उद्घाटनसत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा म्याग्दीबाट स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा रिपोर्टिङ गर्दै आइरहेका पत्रकार तथा सञ्चारकर्मी र प्रशिक्षार्थी पत्रकारहरुको सहभागिता रहेको छ ।

आगामी तीन दिनसम्म चल्ने तालिममा पत्रकारिता सम्बन्धी विषयको तालिमसँगै सूचना तथा प्रसारण विभागबाट जारी हुने प्रेस प्रतिनिधि प्रमाणपत्र जारीका साथै नवीकरण तथा अनलाइन सञ्चारमाध्यम दर्ताको कार्य भैरहेको छ ।

Previous articleपेट्रोलमा ५ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँले भाउ घट्यो
Next articleलालीगुराँस फुलेर जंगल नै राताम्य