नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा दुर्घटनामा परी ज्यान गुमाउनुभएका बेनी नगरपालिका–२ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेलाई बिमा सुविधा बाहेक पनि क्षतिपूर्ति दिने सहमतिपछि तालाबन्दी खुलेको छ ।
मंगलबार सर्वदलिय तथा सर्वपक्षीय भेलामा रााहुघाट जलविद्युत आयोजना र ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले मृतकका छोराछोरी र परिवारका लागि विमा बाहेकको सुविधाका लागि निर्णय गरी पठाउने निर्णय गरिएको थियो।
मृतक घिमिरेका आफन्त र गाउँले आन्दोलित भएसँगै सन्तानको शिक्षादीक्षा सहितका कार्यका लागि थप ५० लाख माग गरिएकोमा राहुघाट र ठेकेदार कम्पनीले सकारात्मक बचत दिएपछि पोस्टमार्टम र अन्तेष्टी गरिएको वडा अध्यक्ष यामबहादुर कार्कीको भनाई छ ।
‘सहमति पालनामा आनाकानी गरे आन्दोलित हुने चेतावनी दिएका छौ, सर्वपक्षीय भेलाको निर्णय भएकाले कायान्ययन हुने छ, हामीले निरन्तर दबाब दिइरहन्छौ’ वडा अध्यक्ष कार्कीले भन्नुभयो । मृतकका परिवारलाई सहमति हुने गरी ठेकेदार कम्पनी र आयोजना अगाडी नबढेसम्म शव आफन्तले बुझ्न मानेका थिएनन् ।
रघुगङ्गा गाउँपालिका–४ बुक्ल स्थित राहुघाट जलविद्युत आयोजनाको अडिट नं. २ मा फागुन २९ गते ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) को डिपी टु ए ७०८३ नम्बरको मिस्कर दुर्घटनामा ज्यान गएको थियो । मिस्कर दुर्घटनामा घिमिरे सडकबाट ८० मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको थियो ।
स्थानीयले विभिन्न चरणमा छलफल गर्दा समेत निर्माण कम्पनी र आयोजनाले बेवास्ता गरेकाले पिप्ले स्थित रघुगङ्गा हाइड्रोपावरको कार्यालयमा सोमबार लगाइएको ताला मंगलबार खोलिएको पूर्व वडा अधयक्ष हिराबहादुर थापाले बताउनुभयो ।
म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा बर्षेनी मजदुरले दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । राहुघाट जलविद्युत आयोजनामा पछिल्लो ३ महिनामा भारतीय सहित ४ जनाले ज्यान गुमाएका छन् ।