म्याग्दीको मङ्गला गाउँपालिका-५,हाँडेभिरमा निर्माणाधीन १० सैयाको पालिकास्तरीय अस्पतालको भवनका ठेकेदारलाई गाउँपालिकाले काममा नफर्किए धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । पटक–पटकको लिखित तथा मौखिक निर्देशनलाई समेत अटेर गरेपछि ठेकेदारलाई म्याद थपका प्रक्रियाहरुमा नजाने भन्दै फर्काएको छ ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको र गुणस्तरीय सेवा सहितका योजनाहरु अगाडी बढाउन नसकिएको भन्दै ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौँका प्रतिनिधिलाई काममा फर्किन र चालु आवमै बाँकी काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

‘ठेकेदारको लापरवाहीले अस्पतालको काम रोकिएको छ, हामीले चरणबद्ध दबाब दिएका छौ’ अध्यक्ष रोकाले भन्नुभयो । अब ठेकेदारलाई काम गर्ने वा छोड्ने बिकल्प उहाँकै हातमा छ’ अध्यक्ष रोकाले भन्नुभयो । विसं २०७७ पुस महिनामा शिलान्यास भएको अस्पताल भवन चारबर्षदेखि अलपत्र अवस्थामा छ । यो भवन २०८० साल असार महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।

शनिबार नेपाली सेनाको गण्डकी प्रदेशस्तरीय संयुक्त बृहत बिपद् प्रतिकार्य नमुना अभ्यासको उद्घाटन गर्न पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले अलपत्र अस्पतालको भवन देखाउँदै ठेकेदारलाई कानुनी डण्डा देखाएर अपुरो कामलाई पूर्णता दिन अनुरोध गर्नुभएको थियो।

तत्कालिन समयमा सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने निर्णय अनुसार गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गर्नुुभएको थियो। भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौँसँग २०७८ साल असारमा ९ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो। भवनको कूल १२ करोड ९७ लाखको लागत अनुमान गरिएको थियो।

३५ वटा कोठा हुने भबनमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमता,प्रयोगशाला, प्रशासन, औषधी कक्ष सहितको अपाङ्गतामैत्री भवन बनाउन लागिएको थियो। अस्पताल भवन नजिककै अर्मन स्वास्थ्य चौकी रहेको छ ।

उक्त स्वास्थ्यचौकीकै करिब ८ रोपनी जग्गा अस्पतालका लागि ब्यवस्थापन गरिएको थियो।म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोबामा भवन निर्माण सम्पन्न भएपनि प्रयोगविहिन अवस्थामा रहेको छ भने धवलागिरि गाउँपालिकाको ताकममा निर्माणाधीन पाँच शैया क्षमताको अस्पताल समेत पूर्णता भएको छैन ।