अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीले बेनी नगरपालिका–२ स्थित लभ्लीहिल क्षेत्रमा घुम्न गएकाहरुले गरेको फोहोर सरसफाई गरेका छन् ।
घुम्न गएकाहरुले जथाभावी गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च लगायत आसपासका क्षेत्रमा मदिराका बोतल, बिस्कुट, चाउचाउ, चकलेट, मिनरल वाटर, पेयपदार्थका बोतल फाल्दा कुरुप बनेको अवस्थामा अनेरास्ववियु म्याग्दीका अध्यक्ष खुमबहादुर किसानको नेतृत्वमा म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र यूनियनका सचिव मन्जुर कटुवाल क्षत्री, कोषाध्यक्ष अस्मिता भण्डारी सहितको टोलीले फोहोर संकलन गरी ब्यवस्थापन गरेको हो ।
“स्वच्छ वातावरण, स्वस्थ जीवन“ भन्ने नारासहित आयोजित सरसफाई कार्यक्रममा अनेरास्ववियुले नियमित गर्ने भएपनि घुम्न गएकालाई सभ्यता र सरसफाईको परिचय दिन समेत अनुरोध गरेका छन् । कार्यक्रमका संयोजकले वातावरण संरक्षणका लागि सबैको साझा दायित्व रहेको उल्लेख गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सरसफाई अभियानमा संकलित फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको थियो। पर्यटकीय आकर्षणको गन्तव्य बनेको लभ्लीहिलमा पुगेपछि संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण हिमालको समेत चुचुरो देख्न सकिन्छ । लभ्लीहिलबाट म्याग्दी सदरमुकाम बेनीबजार, गलेश्वर क्षेत्र, पौलस्त्य पुलहाश्रम, केभहिल, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्रहरु देखिन्छन् ।यस्तै म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ ।