बेनी नगरपालिका वडा नं ८,शिक्षामार्गमा रहेको फुटसलमा मैदानमा मधु रोका साथीहरुसँगै खेल्दै गरेको भेटिनुहुन्छ । रोकासँगै बविता पुर्जा, गंगा पुन, टिका पूर्जा साथीहरुसँग फुर्सदको समय फुटसल खेल्ने गर्नुहुन्छ ।

एक महिना अगाडीदेखि फुटसल सुरु भएपछि उहाँहरु मैदानमा खेलिरहेको भिडियो र तस्वीहरुले महिला फुटसलको क्रेज दिनप्रतिदिन बढ्दो क्रममा रहेको देखाउँछ ।

म्याग्दीमा नै पहिलोपटक बढ्दो फुटसल क्रेजलाई मध्यनजर गरी यूवा ब्यवसायी कुमार बानियाँ, हेमन्त श्रेष्ठ र जेनेस श्रेष्ठले सुरु गरेको फुटसलमा महिलाहरुले टिम नै बनाएर आउनुभएपछि रौनकता थपिएको ब्यवसायी बानियाँको भनाई छ ।

‘शिक्षक, गृहणी सहित विभिन्न पेशामा आवद्ध हुनुहुन्छ, फुटसलले कलिला बालबालिकादेखि पाकालाई समेत आर्कषित गरेको छ’ जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएका बानियाँले भन्नुभयो । महिलाहरुका लागि फुटसल ‘रिफ्रेस सेन्टर’ बनेको छ ।

८० लाखको लगानीमा प्याराफिट सहितको मैदानमा महिलाहरु खेल्दा नियमित खेल्न आउने फुटसल समुहले समेत हुटिङ सहित हौसला दिने गरेका छन् । बागलुङ र पोखरा खेल्न जानुपर्ने बाध्यताको अन्त्य गर्दै सुरु भएको फुटसलमा सार्वजनिक विदाको दिन भ्याइनभ्याई हुन्छ भने अन्य समयमा समेत नियमित समुह आउने गरेका छन् ।

बेनीबजारस्थित हुलाकचोकका मोवाइल ब्यवसायी नरेश श्रेष्ठले साँझपख फुटसल खेल्न जाने गरेको बताउनुभयो । दिनभरी ब्यवसायमा ब्यस्त हुने श्रेष्ठ मासिक शुल्क तिरेर समुह नै बनाएर खेल्न जानुहुन्छ ।

५ ए साइड मापदण्डको फुटसल मैदानमा महिला समुहलाई प्रति घण्टा १ हजार र पुरुषलाई शनिबार बाहेकका दिन १२ सय र अन्य समयमा १५ सय शुल्क निर्धारण गरिएको छ ।

खेलकुदमा आकर्षण बढाउन र बालबालिकालाई सानैदेखि फुटबलमा दक्ष बनाउने उद्देश्यसहित भविष्यमा एकेडेमी तथा प्रोड खेलाडीलाई फुटसल ट्रेनिङ सेन्टर बनाउने लक्ष्यसमेत राखिएको छ ।