म्याग्दी र कास्की जिल्लाले लागुऔषध नियन्त्रणका लागि जिल्लाका सीमा नाकामा कडाई गर्ने निर्णय गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आयोजित अन्तर जिल्ला समन्वय बैठकमा पछिल्लो समय म्याग्दीमा कास्की हुदै लागुऔषधको बिक्री बढेको अवस्थामा लागुऔषध विरुद्ध कडार्ईका साथ लाग्ने निर्णय गरिएको हो ।
बैठकमा म्याग्दीका ग्रामिण क्षेत्रबाट गाँजा र चरेसको ओसारपोसार तथा कास्की हुदै पर्वत र बागलुङको नाकाबाट अवैध करोबार र ओसारपसारलाई नियन्त्रण तथा लागु औषधको उत्पादनलाई निस्तेज पार्न दुवै जिल्लाका सीमा नाकामा सुरक्षा जाँचलाई थप कडाई गर्ने निर्णय गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।
‘दुबै जिल्लाबाट सीमा क्षेत्रमा कडाई गरिएको छ, सूचना आदान प्रदानलाई थप प्रभावकारी बनाइने छ’ प्रजिअ ढकालले भन्नुभयो । बैठकमा कास्कीका प्रजिअ भरतमणि पाण्डेले शान्ति सुरक्षा कायम गर्न र लागुऔषध ओसारपसार र सूचनाहरू आदानप्रदान, विपद्का घटनाहरूसँग समन्वय, सुरक्षाका लागि अन्तर जिल्लास्तरीय सुरक्षा बैठक गरिएको बताउनुभयो ।
म्याग्दी र कास्की जिल्लाको सीमाना जोडिएका क्षेत्रहरूका साथै छिमेकी जिल्लासँग समेत समन्वयका लागि समयसमयमा बैठक बस्नुपर्ने प्रजिअ पाण्डेको भनाई थियो ।
समन्वय बैठकमा दुबै जिल्लाका सीमानामा यातायातका साधनहरूको छड्के चेकजाँच गरी यस क्षेत्रबाट लागुऔषध लगायतका अवैध गतिविधिलाई नियन्त्रण सहित असल अभ्यासको आदानप्रदानको समेत आवश्यकता रहेको सुरक्षा निकायका प्रमुखहरूले बताएका थिए ।
समन्वय बैठकले अन्तर जिल्लास्तरीय सुरक्षा, विपद्का घटनाहरूमा समन्वय र अपराधका घटनाहरूलाई न्यूनिकरण, सुरक्षा प्रमुखहरूबीच चिनजानका साथै चोरी पैठारी र तस्करी नियन्त्रण, महिला बेचबिखन र फरार अपराधीहरूलाई पक्राउ गर्नका लागि समन्वय बैठकमा छलफल भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रजिअ अनिशा आचार्यले बताउनुभयो ।
बैठकमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख भरत श्रेष्ठ, राष्ट्रिय अनुसन्धान अधिकृत सविन श्रेष्ठ, शसस्त्र प्रहरी नायव उपरीक्षक नवराज नेपाल, शत्रुभञ्जन गुल्मका सेनानी रविन गुरुङका साथै कास्की जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिीति रहेको थियो ।