बेनी-जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको उत्तरी क्षेत्रमा रहेका बेलिब्रिजमा ‘हेभी’ सवारीसाधनलाई कडाई गरिएको छ ।
बेलिब्रिजको क्षमता मापन नगरी धेरै टन ढुवानी गर्दा फलामे बेलिब्रिजमा ठड्याइएका पाता, नटबोल्ट जीर्ण बन्दै गएपछि ट्राफिक कार्यालयले म्याग्दी खण्डमा रहेका बेलिब्रिजमा शनिबारदेखि १२, १४ र १८ चक्केसम्मका सवारीसाधनलाई रोक लगाउने निर्णय भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजकुमार केसीले बेनीअनलाइनलाई बताउनुभयो ।
‘बेलिब्रिज कुनैपनि बेला टुट्न सक्ने अवस्थामा छ,जलविद्युत आयोजनाका सामान ढुवानीकर्ताको लापरवाहीपछि कडाई गरिएको हो,‘कटानले नै जोखिममा रहेको अवस्थामा झनै हेभी सवारीसाधनको भारले दुर्घटनाको जोखिम छ’ प्रमुख केसीले भन्नुभयो । म्याग्दी खण्डमा भुरुङ तातोपानी, रुप्से झरना र मुस्ताङमा समेत समन्वय भइरहेको छ ।
उत्तरी म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनलाई आवश्यक पर्ने ट्रान्सफर्मरसहित हेभी इक्युमेन्टसम्बन्धी सरकारी निकायको निगरानी बिनै पुलमा सामान्य ‘सर्पोट’ राखेर सवारीसाधन आवतजावतमा समेत चासो नदेखाउँदा पुल जिर्ण अवस्थामा रहेको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिको भनाई छ ।
म्याग्दी र पर्वत जोड्ने कालिपुल सहित सडकखण्डमा बनेका पक्की पुलमा भारवहन क्षमताको मापन गर्ने सरकारी निकायको प्राविधिक क्षेत्र नै बेखवर छ ।