कसरी चिन्ने विषालु च्याउ?

हरेक वर्ष वर्षात्को समयमा जङ्गलबाट ल्याएको च्याउ खाएर सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्। कसरी चिन्ने विषालु च्याउ? हरेक वर्ष बर्षा र हिउँदे याममा जङगलबाट ल्याएको च्याउ खाँदा सर्वसाधारणको अकालमा ज्यान गइरहेको छ। यो वर्ष पनि जङगली च्याउ खाएर बिरामी हुने सर्वसाधारणको संख्या ठूलो छ।

जङगलबाट ल्याएको च्याउ खाँदा किन जान्छ मान्छेको ज्यान? विज्ञहरू जङगलमा पाइने धेरैजसो च्याउ विषालु हुने भएकाले ज्यान जाने गरेको बताउँछन्। उनीहरू च्याउ चिनेर मात्रै खान आग्रह गर्छन्।हुन पनि वर्षा याममा चौर, पाखा, पखेरो, खोंचमा च्याउ उम्रन्छन्।

यससँगै गाउँघरमा च्याउ टिप्न जाने गरिन्छ। तर, विषालु च्याउको पहिचान हुन नसक्दा जङगली च्याउ खाएर मान्छे मर्ने क्रम भने अझै पनि रोकिन सकेको छैन।वर्षा याममा उम्रने सबै च्याउ मानवीय उपभोगका लागि लाभदायक हुँदैनन्। अझ कतिपय च्याउ त विषालु हुने हुँदा विचार गरेर मात्र खानुपर्ने विज्ञहरू बताउँछन्। जङगली च्याउमा पाइने मस्किमोल, आइबोटेनिक एसिड, इन्डोलिक एसिडले शरीरलाई हानि गर्ने चिकित्सक बताउँछन्।

कसरी चिन्ने विषालु च्याउ?

बाहिरी आवरण हेरेर मात्र च्याउ विषालु हो कि होइन भन्ने छुट्याउन सकिंदैन। तैपनि विषालु च्याउको छाता खस्रो हुने र खान हुने च्याउको छाता छुँदा चिप्लो हुने विज्ञहरू बताउँछन्।जङगलमा उम्रिएको कुनै च्याउबाट नमीठो गन्ध आएको छ र त्यसमा झुसको मात्रा अत्यधिक छ भने त्यो च्याउ विषालु हुन्छ। च्याउबाट तीतो स्वादको गन्ध आएको छ र च्याउ रङ्गीचङ्गी छ भने पनि त्यो विषालु हुन्छ।

त्यस्तै, च्याउलाई भाँच्दा त्यसबाट चोप निस्कन्छ र हातले छुँदा त्यसको रङ फेरिन्छ भने पनि त्यस्तो च्याउ विषालु हुने मसरुम च्याउ सीड नेपालका आकाश बादे बताउँछन्। “विषालु च्याउ झट्ट हेर्दा आकर्षक र सफा देखिन्छ,” श्रेष्ठ भन्छन्, “खानयोग्य च्याउको आयु छोटो हुने र केही दिनमै ओइलाउँछ। विषालु च्याउ भने धेरै दिनसम्म उस्तै रहिरहन्छ।”

कतिपय विषालु च्याउ खाँदा मान्छे तत्कालै मर्न पनि सक्ने हुँदा जथाभावी च्याउको सेवन गर्न नहुने उनी बताउँछन्। “कतिपय च्याउ खाएको लामो समयपछि मात्र शरीरमा असर देखिन थाल्छ,” बादे भन्छन्, “च्याउले खासगरी कलेजोलाई असर गर्छ र पित्तमा पुगेर त्यसले नयाँ पदार्थ बनाउँछ र त्यसले मिर्गौलाको काम गर्ने क्षमता पनि कमजोर बनाउँछ, जसले गर्दा कलेजो र मिर्गौला फेल भएर मान्छे मर्न सक्छ।”

विषालु च्याउको असर बालबालिका र वृद्धवृद्धामा अधिक हुन्छ। विभिन्न च्याउ एकै ठाउँमा राखेर पकाउन नहुने पनि उनी सुझाउँछन्। उनका अनुसार भण्डारण गर्न जानिएन भने खानयोग्य च्याउ पनि विषाक्त हुन सक्छ। कुनै विषालु च्याउले भने खाएको ८–१० घन्टामा मात्रै असर देखाउँछ।

समाजमा विषालु च्याउ चिन्नेबारे विभिन्न गलत धारणा व्याप्त रहेकाले तिनबाट जोगिनुपर्ने नेपालको जङगली च्याउका विज्ञ डा. महेश अधिकारी बताउँछन्। समाजमा सबैभन्दा प्रचलित भनाइ जङगली च्याउ चिन्न पकाइएको भाँडोमा चाँदी डुबाइ हेर्नु भन्ने हो। तर, सबै विषालु च्याउले चाँदीलाई कालो नबनाउने हुँदा त्यो विधिलाई भरपर्दो मान्न नसकिने मसरुम अफ नेपालका लेखक समेत रहेका अधिकारी बताउँछन्। उनका अनुसार च्याउ चिन्ने मान्छेको सल्लाह मात्र अनुसरण गर्नुपर्छ।

च्याउमा अनेक थरी विष हुने भएकाले छुट्याउनलाई एउटा मात्रै विधिले काम नगर्ने च्याउविज्ञ केशरीलक्ष्मी मानन्धर बताउँछिन्। “विगतमा च्याउ खान हुन्छ÷हुँदैन भनेर चाँदीको चम्चा वा गहना पकाएको च्याउको तरकारीमा हालेर जाँच्ने गरिन्थ्यो,” मानन्धर भन्छिन्, “तर त्यसले च्याउमा हुने धेरैमध्ये एउटा मात्र विषालु तत्त्वको मात्र जाँच हुन्छ, जबकि च्याउमा अनेक थरी विष पाइन्छ।”कुनै च्याउको विषालु तत्त्व पकाउँदा नष्ट हुन्छ भने कुनैको हुँदैन। सेतो दूध आउने च्याउ प्रायः विषालु हुने उनी बताउँछिन्।

विषालु च्याउ खाँदा देखिने लक्षण

विषालु च्याउ खाएपछि शरीरमा विभिन्न लक्षण देखिन्छन्। जस्तै– आँखाबाट आँसु आउने, मुखबाट ¥याल निस्कने, जिब्रो सुन्निने, बान्ता आउने, पखाला चल्ने, घाँटीमा खसखस हुने तथा सुन्निने, बेहोस हुने आदि।

यसर्थ, विषालु च्याउ खाएर समस्या हुनासाथ अस्पताल लैजानुपर्छ। सम्भव भएमा विषालु जङगली च्याउ खाएको थाहा हुने बित्तिकै बान्ता गराउने र बिरामीलाई जतिसक्दो छिटो स्वास्थ केन्द्र लैजानुपर्ने चिकित्सक बताउँछन्।

सन् १८३८ देखि हालसम्मको अनुसन्धानमा नेपालमा एक हजार २७१ प्रजातिका च्याउ भएको पत्ता लागेको छ। प्राकृतिक विज्ञान संग्रहालय छाउनीले नेपालका विभिन्न स्थानबाट सङ्कलन गरेको च्याउका ११४ नमूनामध्ये २५ वटा विषालु रहेको पहिचान गरेको छ। एजेन्सीको सहयोगमा

Previous articleबेलिब्रिजमा ‘हेभी’ सवारीसाधनलाई कडाई
Next articleम्याग्दी फोटोग्राफर संघ गठन, अध्यक्षमा भोजबहादुर रिजाल