हाई-अल्टिच्युट ट्रेनिङको सम्भाब्यता अध्ययन गर्न गण्डकी विश्वविद्यालयको स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम)का विद्यार्थी सहितको टोलीले चारदिने मुस्ताङको स्थलगत अवलोकन गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवम् विश्वविद्यालयका खेलकुद विभागका संयोजक डा.मधु सुदन सुबेदीको नेतृत्वमा १० जनाको टोलीले तल्लो मुस्ताङदेखि कोरला नाकासम्म हाई–अल्टिच्युट ट्रेनिङका लागि उपयुक्त स्थानको खोजी गरिएको थियो ।
अध्ययन तथा अवलोकन भ्रमणमा ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ चौथो सेमेस्टरकी विद्यार्थी एवम् राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, विद्यार्थी एवम् पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्साल, उसु प्रशिक्षक भागिरथ कँडेल, पोखरा फुटसलका सचिव प्रकाश पराजुली, गण्डकी भलिबल टिमका प्रशिक्षक मलिन रोकाको टोली रहेको थियो ।
उक्त टोलीले समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोरला नाका आसपासको भूगोलमा खेलकूद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर्यटनको विकासमा समेत हाई–अल्टिच्युट ट्रेनिङको सञ्चालन गर्न सकिने बारेमा स्थानीयसँग समेत छलफल गरेको विश्वविद्यालयका विद्यार्थी एवम् भलिबल प्रशिक्षक मलिन रोकाले बताउनुभयो ।
मुस्ताङमा सबै प्रकारका खेलहरू सञ्चालन गर्न सकिने भएपनि नियमित खेलकुद अभ्यासका लागि भने माथिल्लो क्षेत्रमा चिकित्सक सहितको आधुनिक स्वास्थ्य संस्थाहरुले समेत सेवा दिनुपर्ने महिला भलिबलकी कप्तान अरुणा शाहीको भनाई छ।
‘भलिबल खेलको हब बनाउन अव हिमाली क्षेत्रमा पनि प्रतियोगिता सञ्चालन गर्नुपर्छ, विदेशी खेलाडीमार्फत पर्यटन प्रबर्धनमा समेत सघाउँछ’ कप्तान शाहीले भन्नुभयो । टोलीले तल्लो मुस्ताङ देखि माथिल्लो मुस्ताङ सम्मका स्थानहरूमा खेलकुद प्रशिक्षण गर्दा अक्सिजनको अभावमा हुन सक्ने समस्या लगायत विविध समस्याका बारेमा समेत अध्ययन गरेको छ।
नेपालमै पहिलो पटक खेलकुद विषयमा गण्डकी विश्वविद्यालयले स्थापनाको बिएसएमका विद्यार्थीमा अधिकांस खेलकुद क्षेत्रमै सक्रिय रहेका खेलाडीहरू छन् ।
खेलकुद पर्यटनको सम्भावना रहेको गण्डकी प्रदेशभित्रका ११ वटै जिल्लामा विभिन्न खेलका सेन्टर बनाएर सर्टिफिकेटभन्दा पनि व्यवसायिक दक्ष जनशक्ति उत्पादनका पहल भइरहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवम् विश्वविद्यालयका खेलकुद विभागका संयोजक डा.सुबेदीको भनाई छ ।