संस्कृतकर्मी आरके अदीप्त गिरी सम्मानित भएका छन्। कालीगण्डकी बचाऔं अभियानमार्फत नागरिकमा प्रकृति रक्षाकाे जागरण फैलाएको भन्दै उनलाई वातावरण तथा सम्पदा संरक्षण सम्मानद्वारा सम्मान गरिएको हो।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा पर्वतको सदरमुकाम कुश्माबजारस्थित ‘शताब्दी घर’ मा पुगेर सम्मान अर्पण गरेको थियो।

गिरी अभियन्ता, कवि, पत्रकार पनि हुन्। शनिबार गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरन्जीवि शर्माले सम्मानपत्र, अभियानका संयोजक रामबहादुर पौडेले माला र नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

गिरीलाई सम्मान गर्दै मुख्य न्यायाधिवक्ता चिरन्जीवि शर्माले कालीगण्डकी कुनै पनि बहानामा दोहन हुनु दु:खद रहेको बताए।

उनले जल र जीवनको सम्बन्ध अनोन्याश्रित हुने भन्दै मान्छेको अधिकारजस्तै कुनै पनि प्राकृतिक सम्पदा जीवित रहन र निर्वाध आफ्नो बाटोमा हिड्न पाउने अधिकार रहेको जनाए।

कालीगण्डकी हिन्दू धर्मालम्बीहरुको मात्र धार्मिक आस्थाको रुपमा नभै कालीगण्डकीलाई २४ तान्त्रिक स्थानमध्ये एक मान्ने गरेको प्रसंगउल्लेख गरे।

कालीगण्डकी किनारामा मुक्तिनाथदेखि देवघाटसम्मका दर्जनौँ पवित्र धार्मिक स्थल छन्, जहाँ एक पटक दर्शन वा पूजापाठ गर्न हजारौं धर्वालम्बी लालायित छन्।

यसैगरी स्कन्द पुराण कृष्णभाया (कृष्ण गण्डकी वा कालिगण्डकी) नुहाइसकेपछि प्रयाग वा कुरुक्षेत्रमा नुहाउनु भन्दा पापबाट मुक्ति पाउन सय गुणा सहज हुन्छ भन्ने मान्यता रहेको छ।

यति मात्र होइन, मोक्षप्राप्तिका लागी विश्वभरबाट लाखौँ हिन्दूहरू यस नदीको स्नान गर्न आउँछन्। एकपटक कालीगण्डकीमा स्नान नगरी मरेको मानिसले मोक्षप्राप्ति गर्दैन भन्ने कथन वेद पुराणमा रहिआएको मत मुख्य न्यायाधिवक्ता शर्माले बताए।