म्याग्दीमा २ दिने निःशुल्क मुटुरोग विशेषज्ञ शिविर सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति र ६ वटै स्थानीय तहको आयोजनामा सहिद गंगालाल हृदय केन्द्र काठमाण्डौको प्राविधिक सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा चैत्र १९ र २० गते हुने भएको हो ।

शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा रक्त परीक्षण हुने जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्रीले बताउनुभयो ।

शिविरलाई बेनी नगरपालिका र पाँचवटै गाउँपालिकाले आर्थिक तथा गंगाला हृदय केन्द्रका निर्देशक डा. रबी मल्ल सहितको टोलीले प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

शिविरमा म्याग्दी उद्योग वाणिज्य संघ, राखु कल्याणकारी समाजको विशेष सहयोग म्याग्दी जेसीज, नेपाल रेडक्रस सोसाईटी,ओमकुमारी शान्ति कोष, म्याग्दी बहुमुखी क्याम्पसले स्वंयमसेवक परिचालन गर्नेछन् ।

शिविरमा मुटु रोग सम्बन्धी समस्या भएकाहरुलाई सेवा लिन अनुरोध गरिएको छ । यसैबीच शिविरको तयारी तथा प्रचारप्रसार समेत सुरू भएको छ । मुटुको नियमित चेकजाँच नहुदाँ म्याग्दीमा समेत बिरामीको संख्या धेरै भएकाले यो शिविर फलदायी हुने आयोजकले जनाएको छ । ग्रामिण क्षेत्रमा रहेका बिरामीलाई स्थानीय तहले ब्यवस्थापन गर्नेछ ।