जापानमा शरीरमा रगत उत्पादन नहुने रोग (बोनम्यारो एनिमिया) बाट पीडित एक म्याग्देलीको जीवन बचाउन परिवारले सहयोगको अपिल गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका–४, घर भई हाल जापानस्थित फुकुओका इन्टरनेशनल अनिमेसन कलेजमा अध्ययनरत २३ बर्षिय चोकबहादुर बुढाथोकी रगत सम्बन्धी समस्याबाट पीडित भएपछि मोना जापानले अभियान सुरु गरेको हो ।
जापान आएको करिब ३ बर्षमा अचानक शरीरमा रगत उत्पादन नहुने समस्याबाट ग्रसित भएपछि बुढाथोकी हाल फुकुओकास्थित हारा सानसिन हस्पिटलमा उपचारार्थ रहेको मोना जापानका प्रबक्ता कमल बानियाँले बताउनुभयो ।
हालसम्म बुढाथोकीको उपचारका लागि मोना जापानले संस्थागत रुपमा ५० हजार येन सहित करिब २ लाख येन संकलन भएको छ । ‘उहाँको उपचार जापानमा महंगो छ, हामीले परामर्श लिइरहेका छौ, उपचारमा सहयोगको अपिल गरेका छौ’ मोना जापानका अध्यक्ष बिशाल केसीले भन्नुभयो। मोनाले आर्थिक सहयोगको जिम्मेबारी सुरेश पुनलाई जिम्मेबारी दिएको छ।
मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले जापानमा रहेका म्याग्देली सहित नेपालीलाई उपचार अभियानमा सहयोग गर्न अपिल गर्नुभएको छ। पीडित बुढाथोकीलाई हस्पिटलका चिकित्सकले भारतको एपोलो अस्पतालमा कम खर्चिलो उपचार र परिवारले समेत रेखदेख गर्न मिल्ने बताएपछि मोना जापानले परिवारका सदस्यहरुसँग समेत छलफल गर्ने जनाएको छ ।
बोनम्यारो ट्रान्सप्लान्ट गर्ने पर्ने भएकाले उक्त उपचारका लागि ३० देखि ४० लाख सम्म लाग्न सक्ने अनुमान गरिएको छ । अहिले रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरूको भनाई छ । सहयोग गर्न इच्छुकहरूले हाल मोना जापानले दिएको खाता नम्बर सहितको विवरणमा सम्पर्क गर्न सकिने छ ।