कल्पना गर्नुहोस्, एउटा चराको, जुन एउटा सुनौलो पिँजरामा कैद छ। त्यो पिँजरा यति सुन्दर छ कि हेर्दा लाग्छ चराको जीवन यही हो; सुरक्षित र सम्पन्न। पर कतै खुला आकाश देखिन्छ, जहाँ हजारौँ पखेटा फर्फराइरहेका छन्, तर उसलाई लाग्छ छ, “त्यो संसार मेरो लागि होइन। म यहाँ सुरक्षित छु, यो पिँजरा मेरो घर हो।“
हामी पनि त्यही चरा हौँ। हामी बाहिरबाट स्वतन्त्र देखिन्छौँ, हिँड्छौँ, बोल्छौँ, निर्णय गर्छौं। तर के हाम्रा निर्णयहरु साँच्चै स्वतन्त्र छन् त? के हाम्रो सोचाइ सधैँ हाम्रो आफ्नै हो त? तर सत्य के हो भने हाम्रो मनले हामीलाई एउटा अदृश्य पिँजरामा कैद गरिसकेको छ। हामीलाई लाग्छ, हामी स्वतन्त्र छौँ, तर हाम्रो स्वतन्त्रता केवल एक भ्रम हो।
मन एउटा जटिल संरचना हो। यसको पर्खालहरू भयबाट बनेका छन्; भविष्यको भय, असफलताको भय, समाजको भय। यसको पर्खाल पुराना विश्वासहरूले ढाकेको छ; के सही, के गलत, के सम्भव, के असम्भव। यसमा एउटा अर्को ढोका पनि छ, तर हामीले कहिल्यै त्यो ढोका खोल्ने हिम्मत गरेका छैनौँ। किनभने पिँजराभित्रको सुरक्षित संसार हामीलाई बाहिरको अज्ञात संसारभन्दा बढी प्रिय लाग्छ।
तर सोच्नुहोस्, के साँच्चै पिँजराभित्र बस्नु नै जीवन हो त? चरा जन्मिदा पिँजराका लागि जन्मदैन, खुला आकाशका लागि जन्मिन्छ। त्यसैगरी, हाम्रो चेतना पनि बन्धनका लागि होइन, स्वतन्त्रताको लागि जन्मिएको हो। तर यो मनले हामीलाई आफ्नै डर, असुरक्षा र समाजका नियमहरूको शृङ्खलामा बाँधेर राखेको छ। हामी बाहिर निस्कन चाहँदैनौँ, किनकि अज्ञातको डर हाम्रो मनको सबैभन्दा ठूलो शत्रु हो।
हाम्रो मनले हामीलाई यही सिकाएको छ; तिमी सुरक्षित छौ, जहाँ छौ त्यहीँ बस। तिमीले सोच्नुपर्दैन, प्रश्न गर्नुपर्दैन र सिमाना तोड्नुपर्दैन। यसैले हामी परम्परा मान्छौँ, समाजका नियमहरू पालना गर्छौं, अनि आफूलाई सुरक्षित राख्छौँ। तर के यो सुरक्षा नै स्वतन्त्रता हो त?
स्वतन्त्रता भनेको केवल शारीरिक रूपमा मुक्त हुनु मात्र होइन। स्वतन्त्रता भनेको मनका पर्खालहरू भत्काउन सक्ने साहस हो। स्वतन्त्रता भनेको हो, आफ्ना डरहरूको जरा भेट्टाउने प्रयास। स्वतन्त्रता भनेको हो, प्रश्न गर्नु, आफूलाई चुनौती दिनु, अनि त्यो पिँजराको ढोका खोल्न हिम्मत गर्नु।
तर यो सजिलो छैन। पिँजराभित्रको संसार परिचित छ, सुरक्षित छ। बाहिरको संसार अनिश्चित छ, अज्ञात छ। तर याद गर्नुहोस्, चराको लागि पिँजराभित्रको सुरक्षा भन्दा आकाशको खुलापन ठूलो हो। त्यहाँ जोखिम छ, आँधी छ, वर्षा छ, तर त्यही जीवन हो।
त्यसैले मनको पिँजराबाट निस्कनको लागि पहिलो कदम हो, स्वीकार गर्नु कि हामी कैद छौँ। हामी स्वतन्त्र छैनौँ, हामी डर, असुरक्षा र पुराना विश्वासको बन्धनमा बाँधिएका छौँ। जबसम्म हामी यो सत्यलाई स्वीकार गर्दैनौँ, तबसम्म कुनै ढोका खुल्दैन।
आफ्नै मनको पिँजराबाट मुक्त हुनका लागि हामीले मनको हरेक गतिविधिलाई हेरिरहनुपर्छ। हरेक विचारलाई प्रश्न गर्नुपर्छ, यो मेरो आफ्नै सोच हो कि अरूबाट आएको हो? यो विश्वास मेरो आफ्नै हो कि मैले यसलाई केवल अन्धाधुन्ध स्वीकार गरेको हुँ?
जब तपाईँ यी प्रश्नहरू सोध्न सुरु गर्नुहुन्छ, तब पिँजराको ढोका आफैँ खुल्न थाल्छ। तब तपाईँ थाहा पाउनुहुन्छ कि स्वतन्त्रता बाहिरको कुरा होइन, यो तपाईँभित्रै छ।
तर यो यात्रा सजिलो छैन। यो चुनौतीपूर्ण छ। तर सोच्नुहोस्, के चराले आकाशको विशालता बिना कहिल्यै साँचो जीवन बाँच्न सक्छ? त्यसैगरी के तपाईँले मनको पिँजरामा कैद भएर कहिल्यै जीवनको वास्तविक गहिराइ महसुस गर्न सक्नुहुन्छ?
त्यसैले पिँजराको ढोका खोल्नुहोस्। डरको सामना गर्नुहोस्। किनभने स्वतन्त्रता भनेको डरको अभाव होइन, बरु डर हुँदाहुँदै पनि कदम चाल्नु साहस हो। तपाईँ स्वतन्त्र जन्मिनुभएको हो, त्यही स्वतन्त्रता फिर्ता लिन तयार हुनुहोस्।