म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२,भुरूङ तातोपानीका निलप्रसाद विकको १४ बर्ष अगाडी साउदी अवरमा मृत्यु भयो ।पैसा कमाएर घर बनाउने सपना लिएर वैदेशिक रोजगारीमा गएका विक अस्ताए।

निलप्रसादको मृत्यु भएको लामो समयपछि श्रीमती तारा बिकले क्षर्तीपुर्ती बापत १८ लाख १० हजार पाइन् । बेनी नगरपालिका–५,नयाँ गाउँका भक्ते दर्जी यूएईबाट सिकिस्त बिरामी भएपछि घर फर्किएपछि उपचारको क्रममा मृत्यु भयो ।

‘घरको आर्थिक अवस्था कमजोर, उहाँलाई फर्काउन हाम्रो अवस्थाले सकिँदैनथ्यो, सामी कार्यक्रमको सहयोगमा उहाँलाई नेपाल ल्याएर उपचार गरायौं,’ मायाँले भनिन्, ’उपचारकै क्रममा उहाँको निधन भयो।’ सामी कार्यक्रमकै पहलमा आवश्यक राहतका लागि प्रक्रिया चालेपछि बीमाबापत १३ लाख र वैदेशिक रोजगार बोर्डमार्फत सात लाख रूपैयाँ प्राप्त भएको उनले सुनाइन्।

’श्रीमान् त रहनुभएन तर राहत बापतको उक्त रकमले उहाँको उपचार खर्चमा लागेको रकम तिरेँ, हाल छोराछोरीलाई पनि सोही रकमबाट पढाइरहेको छु।’ सामी कार्यक्रमकै कारण आफूले राहत पाएको उनको भनाइ छ।

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन बि.स २०८० साल असार देखी म्याग्दीमा सञ्चालन भइरहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) प्रभावकारी देखिएको छ ।

’मेरो श्रीमानको नाममा क्षर्तीपुर्ती आउनेमा आश मारेको थिए,तपाईहरूको सहयोगबाट मात्रै सम्भव भयो’ तारा बिकले भनिन्। वैदेशिक रोजगारमा जान बुझाएको पैसा फसेपछि आप्रवासी स्रोत केन्द्रमा निवेदन दर्ता गराएर हालसम्म ५४ लाखभन्दा बढी रकम फिर्ता भएको छ।

ज्यान गुमाएका र ठगिएकाहरू गरी हालसम्म १ करोड ८१ लाखभन्दा बढी रकम पीडित परिवारलाई फिर्ता गरिएको केन्द्रकी कर्मचारी प्रमिला पौडेलले बताइन् । ‘पीडितले नै आस मारेको अवस्थामा पनि ठगिएको पैसा फिर्ता गर्न सफल भएका छौ, निराश भएर आउनेहरू खुसी भएर फर्किनुभएको छ’ पौडेलले भनिन् ।

म्याग्दीमा सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज भएपछि म्याग्दीका सबै स्थानीय तहहरूले चासो देखाएका छन् ।

हालसम्म केन्द्रबाट ८ हजार ७ सय ९० जनाले सेवा लिएका छन् । आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तह लगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिन्छ ।

परियोजनामार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ। त्यस्तै विदेशबाट फर्किएकाहरुलाई सीपमूलक तालिम दिनाका साथै स्थानीयवासीलाई वित्तीय साक्षरता कक्षासमेत प्रदान गरिएको छ। वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक तथा शोषणरहित बनाउन सञ्चालन भइरहेको परियोजनालाई आवश्यकता अनुसार सहयोग भइरहेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको भनाई छ ।

प्रजिअ ढकालले अधिकतर रोजगारीमा जानेहरु सीप नसिकी र सूचना जानकारी नलिई जाँदा विदेशमा पुगेर हरेक खाले दुःख भोग्नु पर्ने, लगानी डुब्ने र परिवार बिल्लीबाट हुने अवस्था सिर्जना भएको सचेतनामुलक अभियानलाई समेत प्राथमिकता दिइएको बताए ।