म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिकोत्सवको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।
“मर्यादित सहकारीः समुन्नत समाज” विषयक बक्तृत्वकला प्रतियोगितामा बिबिएस तेस्रो बर्षका सुशिल खत्री प्रथम, बिएड चौथो बर्षका दिवसबाबु शाही द्धितिय र बिबिएस प्रथम बर्षकी आज्ञा पौडेल तृतिय हुनुभएको छ । प्रथम, द्धितिय र तृतिय हुनले क्रमश ५ हजार, ३ हजार २ हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
वक्तृत्वकला प्रतियोगिताको उद्घाटन गदैं क्याम्पस प्रमुख श्रीधर सुबेदीले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सुसञ्चालन गरी मुलुकको समुन्नत समाज निर्माणमा योगदान पुर्याउने बताउनुभयो । विद्यार्थीको क्षमता विकास तथा सहकारीमार्फत समुदायमा गर्न सकिने सकारात्मक अभियानहरूमा विद्यार्थीलाई समेत सहभागि गराउन सकिने क्याम्पस प्रमुख सुबेदीको भनाई छ । प्रतियोगितामा ६ जना प्रतियोगिको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारीका निर्वतमान अध्यक्ष हरिकृष्ण शर्मा गौतम, सहकारीका शिक्षा उपसमितिका सदस्य गोविन्दप्रसाद रिजालले मन्तब्य राख्नुभएको थियो ।
सहकारीक अध्यक्ष प्रमिला जोशी श्रेष्ठले सहकारीलाई वित्तीय अनुशासन, सुशासन, पारदर्शिता, स्वावलम्बन, सामाजिक उत्तरदायित्व जस्ता मूल्य–मान्यतामा आधारित बनाई आर्थिक विकासमा रचनात्मक कार्यहरुले सघाउने गरी कार्यक्रमहरु भइरहेको बताउनुभयो । सहकारीकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठको अध्यक्षता, सचिव अर्जुन पौडेलको सञ्चालन,उपाध्यक्ष देबेन्द्र पौडेलको स्वागतमा सम्पन्न भएको थियो ।
लोकदिप सहकारीले स्थापना दिवसको अवसरमा सहकारी शिक्षामा बाल बचत योजनामार्फत बालबालिकालाई बचत गर्ने बानीको विकास गराउन नियमित रुपमा मासिक बचतका लागि खुत्रुके हस्तान्तरण, विपन्न सदस्यलाई सहयोग तथा डिजिटल बैंकिङमार्फत कारोबार तथा सदस्यहरुको क्षमता विकासका कार्यहरु समेत गरिरहेको प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।
१ हजार ३९३ जना सेयर सदस्य रहेको सहकारीमा ९ करोड निक्षेप, चुक्तापुँजी १ करोड ७२ लाख र ९ करोड कर्जा प्रवाह रहेको छ । खुत्रुके बचत, लखपति बचत, जुनसुकै बैंकबाट सहकारीमा पैसा जम्मा गर्न मिल्ने, निकाल्न मिल्ने मोवाइल बैंकिङ, अनिवार्य मासिक बचत लगाएतका विशेष बचत कार्यक्रमहरु रहेको छ ।