आँखाको उपचारका लागि छिमेकी भारतसहित बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आउने गरेका छन् । आँखाको राम्रो उपचार हुने र सेवा पनि प्रभावकारी भएकाले विभिन्न देशबाट बिरामी नेपालमा आउने गरेका हुन् ।

सन् २०२४ को तथ्याङ्क अनुसार नेपाल नेत्रज्योति सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको छ । नेत्रज्योति सङ्घका २८ आँखा अस्पताल र दुई सय २४ आँखा उपचार केन्द्रबाट उनीहरुले उपचार सेवा लिएका सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताउनुभयो ।

सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी अहिलेसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको जनाएको छ । तीमध्ये ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया गरेको कार्यकारी निर्देशक मिश्रले बताउनुभयो ।