म्याग्दीमा प्रतिबन्धित लागूपदार्थ खैरो हिरोइन सहित प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ। भारतको बिहार राज्य मोतिहारी संग्रामपुर थाना घर भई बेनी नगरपालिका–८,कालीपुल बस्दै आएका २६ बर्षिय अजित कुमार पासवानलाई ५.६ ग्राम खैरो हिरोईन सहित पक्राउ गरिएको हो ।

शंकास्पद अवस्थामा हिँडेका पासवानलाई चेकजाँच गर्दा कम्मरमा लुकाई छिपाई राखेको अबस्थामा खैरो हिरोइन लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सागर पौडेलले बताउनुभयो ।

पक्राउ परेका पासवानलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत जिल्ला अदालत म्याग्दीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

‘हामीले महंगो लागुऔषध कसरी बेनीसम्म आइपुग्यो थप कनेक्सन खोज्दै छौं,प्रयोगकर्ताहरूको समेत खोजी भइरहेको छ’ प्रनाउ श्रेष्ठले भन्नुभयो । बि.स २०७९ फागुन १८ गते पहिलोपटक कालिपुलबाट भारतको पश्चिम बंगाल घर भई पोखरामा बस्ने २८ वर्षीय अलेमुन हकलाई प्रहरीले ६.५ ग्राम खैरो हिरोइन फेला पारेको थियो ।

खैरो हेरोइन सहित भारतीयहरू बेनीसम्म आउन थालेपछि प्रयोगकर्ताको संख्या समेत धेरै रहेको अनुमान गरिएको छ । बेनीमा अहिलेसम्म पक्राउ परेकाहरु भरिया भएर आएको देखिन्छ । म्याग्दीमा लागु औषध र लागु पदार्थको सेवनकर्ता ह्वात्तै बढेपछि छिमेकी जिल्ला हुँदै कारोबारी प्रवेश गर्ने गरेका छन्। डाईजापाम, फेनेरागन, नुर्फिन जस्ता लागु औषधको प्रयोगकर्ता हरेक बर्ष बढिरहेका छन् ।

चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेट छ्यापछ्याप्ती पाइन्छ । खैरो हेरोइन नपाइएपछि प्रयोगकर्ताले एम्पुल प्रयोग गर्ने गरेको समेत भेटिएको छ ।

आर्थिक हिसाबले सस्तो र बिक्रेताको संख्या अधिक भएर सुईबाट लागुऔषध लिनेको संख्या बढेको छ ।सदरमुकाम बेनीमा स्कुले विद्यार्थी समेत दुव्र्यसनमा फस्न थालेको दरलाग्दो समस्यालाई मध्यनजर गरी पुराना प्रयोगकर्तामार्फत नयाँलाई खोजी गर्ने क्रमलाई समेत तीव्रता दिएको छ।