म्याग्दीका विद्यार्थीको बोल्ने कलाको विकास गर्ने उदेश्यले शैक्षिक परामर्शदाताको रुपका कार्यरत स्टुडेन्ट भाइब्स अस्ट्रेलिया र बेनीअनलाइन प्रालिको आयोजनामा म्याग्दीका ६ वटै स्थानीय तहमा सम्पन्न भएको पालिकास्तरीय छनौट प्रतियोगिताको नतिजा चैत्र १८ गते सोमबार साँझ ५ बजे सार्वजनिक गरिने भएको छ ।

म्याग्दी जिल्लामा पहिलोपटक विद्यालयस्तरमा सर्वाधिक धनराशीको वक्तृत्वकला प्रतियोगितामा ६ वटै स्थानीय तहमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीको सहभागितामा ’अब म पनि बोल्छु’ नामक वक्तृत्वकला प्रतियोगिताको फरक फरक शिर्षकममा प्रतियोगिता सञ्चालन गरिएको थियो ।उक्त प्रतियोगितामा जिल्लाभरका ४५ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

प्रतियोगितालाई २ खण्डमा बिभाजन गरिएकोमा पहिलो खण्ड अन्तरगत पालिकास्तरमा प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुख सहितको निर्णायक मण्डलबाट सहभागीको नतिजाबाट हरेक स्थानीय तहबाट १ जना छनौट गरी अन्तिम प्रतिष्पर्धा गराइने छ । पालिकाको नतिजा सार्वजनिक गर्ने क्रममा फाइनलको मिति समेत जानकारी गराइने छ ।

पालिकाबाट छनौट भएकालाई क्षमता विकास तालिम समेत सञ्चालन गरिने छ । प्रतियोगिताबाट प्रथम हुनेलाई ५० हजार प्रमाणपत्र तथा ट्रफी, दोश्रोलाई ३५ हजार प्रमाणपत्र तथा ट्रफी, तृतीयलाई २५ हजार प्रमाणपत्र तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।