नेपालीलाई ‘तपाईंलाई घुम्न मन पर्ने ठाउँ कुन हो’ भनेर सोध्दा धेरैको जवाफ आउँछ–पोखरा । करिब साढे ३ वर्षदेखि पोखरामा बसिरहेको मलाई भने मुस्ताङ घुम्न जाने ठूलो रहर थियो । पोखरा बसाईंको अवधिमा मुस्ताङ जाने अवसर यसअघि नमिलेका पनि होइनन् । तीन पटक मुस्ताङ जाने मौका जुर्दा पनि विशेष कारणवस् त्यहाँ पुग्ने धोको अधुरै थियो ।
चौथो चोटी आएको अवसर गुमाउनु पनि भएन, यसपालि घुमन्ते बन्ने जोश आयो । गण्डकी विश्वविद्यालयको ब्याचलर इन स्पोट्स म्यानेजमेन्ट (बिएसएम) का सातौं सेमेस्टरका विद्यार्थीबीच शैक्षिक भ्रमण जाने एजेन्डा बारम्बार आइरहन्थ्यो । हरेक छलफलको पहिलो नम्बरमै हुन्थ्यो मुस्ताङ ।
तर, स्रोत र साधनको सीमितताका कारण मुस्ताङलाई छाडेर चितवन, सौराहा मोडिन खोज्दा पनि मन भने जोमसोम, कोरलातिर नै ढल्किरहेको थियो । यसपालि पनि पहिले सौराहा जाने कुरा करिब पक्कापक्की भएको थियो ।
भ्रमणको विषयमा कुरा गर्न हामी विश्वविद्यालय पुग्यौं । रजिस्ट्रार डा. कैलाश तिमल्सिना सरसँग कुरा भइरहदा ‘मुस्ताङ जाने चाँजोपाँचो मिलोस्’ भनी मनमनै सोचिराखेको थिएँ । यो पटक सोचाइ र व्यवहारमा तादात्म्य देखियो । विश्वविद्यालयबाट बाहिर निस्कदै गर्दा हाम्रो योजना सौराहाबाट मुस्ताङतर्फ सोझियो । मुस्ताङ जाने गाडीको व्यवस्थापन गर्न दाइहरु लाग्नुभयो र म खुब उत्साहित हुँदै निवासतिर फर्किएँ ।
गाडीसँग कुरा नमिले मुस्ताङ जान नपाउने त होइन भन्ने डर मनमा खेलिरहेको थियो । मुस्ताङ जाने गाडीको व्यवस्था भएपछि भने साढे तीन वर्षको पर्खाइ सकिएको महसुस भयो ।
गाडी व्यवस्था गरी गण्डकी विश्वविद्यालयमा खेलकुद व्यवस्थापन संकायको सातौं सेमेस्टरमा पढिरहेका हामीले ८ जनासहित १० जना चैत ४ गते बिहान मुस्ताङ प्रस्थान गर्यौं । म्याग्दीको बेनीबाट हिँडेको केही बेरमा मुस्ताङ प्रवेश गरेको आवास हुन थाल्यो । गाडीको झ्यालबाट देखिएको दृश्य निकै मनमोहक देखिन्थ्यो ।
म्याग्दीको रुप्से झरनाबाट हाम्रो घुमफिरको क्रम सुरु भयो । केही समय रुप्से झरना अवलोकनसँगै हामी मुस्ताङतर्फ अघि बढ्यौं । जोमसोम पुग्दा साँझको करिब ५ बजेको थियो । त्यसपछि खाजा, खाना खायौं र पहिलो दिन जोमसोममै बस्ने निधो गर्यौं । त्यो रात जोमसोममै बित्यो ।
अर्काे दिन बिहान साढे ९ बजेतिर हामी जोमसोमबाट कोरला नाकाका लागि प्रस्थान गर्यौं । करिब ७ घन्टाको यात्रापछि कोरला पुगियो । त्यो ७ घन्टामा हामीले यात्रामात्रै गरेनौं, मुस्ताङ किन घुम्नुपर्छ भन्ने जिज्ञासाको उत्तरसमेत पायौं । मुस्ताङको भौगोलिक विशेषता नजिकबाट नियाल्ने मौका मिल्यो ।
असहज बाटोबाट भएको असहज परिस्थितिलाई त्यो सुन्दरताले महसुस हुनै दिएन । तर, लामो बाटो र बढी उचाईमा जाँदा मन अत्तालिएको भने पक्कै थियो । अतात्तिएको मन ४ हजार ६ सय मिटरको उचाईमा रहेको कोरला नाकामा पुगेको छिनभरमै फुरुङ्ग भयो । हावाहुरी एक ठाउँमा थियो भने त्यहाँ पुग्दा मनमा छुट्टै उत्साह जागेर आयो । केही छिन नेपाल–चीन सीमाको कोरला नाकाको पिलर नम्बर २४ मा फोटो खिचेर हामीले पुनः लोमान्थाङतर्फ लाग्यौं ।
लोमान्थाङमा केही समय अल्मलिएर कागबेनीतर्फ यात्रा सोझियो । लोमान्थाङबाट कागबेनी पुग्न ५ घन्टाभन्दा बढी समय लाग्थ्यो । लोमान्थाङबाट हिँड्दा साँझको ५ बजिसकेको थियो । लामो यात्रा हुँदा हामी एकदमै थकित थियौं । त्यस कारण हामी गन्तव्यमा पुग्न सकेनौं ।
दोस्रो दिनको बास कागबेनी र लोमान्थाङबीचको स्याङमोचेनमा हुन पुग्यो । योजना नबनाई हिड्दा बीच बाटोमै अल्मलिनु परेको महसुस हामीले गर्यौं । त्यसपछि भने हामीले कहाँ जाने, कति बेला जाने योजना बनाउन थाल्यौँ । ता कि हाम्रो यात्रा सहज र व्यवस्थित होस् ।
तेस्रो दिन स्याङमोचेनबाट बिहान ८ बजे हिड्ने गरी होटलबाट निस्केयौं । तर, गाडी बिग्रिएपछि करिब २ घन्टा त्यही नै बित्यो । १० बजेतिर हामी कागबेनीका लागि प्रस्थान गर्यौं । गत वर्षको साउनमा आएको बाढीबाट प्रभावित भएको कागबेनी पुनर्निर्माण भइसकेको महसुस भयो । २०८० साउन २९ गते कागखोलामा आएको बाढीले कागबेनी क्षेत्रका पक्की पुल, प्रहरी चौकीसहित ३१ घर बगाएको थियो । जुन अहिले पुरानै अवस्था फर्किए जस्तो आभास हामीले गर्यौं ।
फर्किँदा हामी मुक्तिनाथ मन्दिर गयौँ । हिन्दू र बौद्ध दुवै धर्माबलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ पुग्दा हामी निकै पुलकित थियौं । करिब ३० मिनेटको यात्रापछि हामी मुक्तिनाथको बस स्टेसनमा पुग्यौं । त्यहाँबाट करिब ३० मिनेटको पैदल यात्रा हिँडेपछि मुक्तिनाथ मन्दिरमा पुग्न सकिन्छ । मुक्तिनाथ पुग्दा भारतीय तीर्थयात्रीको बाक्लो उपस्थिति थियो । मन्दिरमा व्यवस्थापकीय कमजोरी भने प्रष्ट झल्किएको थियो । ठाउँ विभाजन नहुँदा र सबै एउटै ठाउँमा हुँदा स्थिति भद्रगोल देखिन्थ्यो ।
विशेषतः तीर्थयात्री एक सय आठ धारामा नुहाउन, पाप र पुण्य कुण्डमा डुबुल्की मार्न मुक्तिनाथ मन्दिरमा जाने गर्छन् । तर, स्वास्थ्यले साथ नदिँदा मेरो न धारामा नुहाउने रहर पूरा भो, न कुण्डमा डुबुल्की मार्ने । केवल मन खल्लो बनाउँदै फर्किनुपर्यो । मुक्तिनाथबाट फर्किएपछि हाम्रो बाटो ढुम्बातालतर्फ सोझियो ।
२८३० मिटर उचाइमा रहेको ढुम्बा ताल निकै आकर्षक छ । त्यहाँ केही समय बिताएर हामी तेस्रो दिन बास बस्न लेतेतर्फ लम्कियौं । त्यस दिन हाम्रो बसाइ लेतेको सीयु अगेन होटलमा भयो । त्यो बसाइका क्रममा केही समय हामीसँग थियो । समय व्यतीत गर्न ‘चोर पुलिस’ खेल खेल्ने उपाय साथीहरुले निकाले । त्यो यात्राकै सबैभन्दा रमाइलो र यादगार पल बनिरहेको छ ।
चौथो दिन बिहान लेतेबाट हामी मार्फातिर लाग्यौं । निकै आकर्षक मार्फा गाउँमा दुई घन्टा बिताएको पत्तै भएन । स्याउको राजधानीका रुपमा परिचित मार्फामा स्थानीय रहनसहन, हिमाली भेगको पोशाकदेखि जेरी चलचित्र छायांकन भएको जेरी गल्ली अवलोकन गर्ने मौका यात्राले जुरायो । लेतेको आतिथ्यतापछि त्यही खाना खाएर हामीले मुस्ताङलाई बिदाई गर्यौं ।
साँझ हामी म्याग्दीको तातोपानी आईपुग्यो । तातोपानी आइपुग्नु तर कुण्डमा ननुहाउनु, त्यो करिब असम्भव नै हुन्छ । हामीले पनि केही समय डुबुल्की मार्यौं । कुण्डमा स्नान गर्दा बाथरोग, ग्यास्ट्रिक, ढाड दुख्ने जस्ता रोग निको हुने विश्वासका साथ सयौं व्यक्ति त्यहाँ स्नान गरिरहेका थिए । तातोपानीको डुबुल्कीपछि हाम्रो ४ दिने यात्राको गन्तव्य अब पोखरा नै थियो, अर्थात् यात्रा टुंग्याउनीतिर पुगेको थियो । हाम्रो गाडी पोखरातर्फ अघि बढ्यो । पर्वत हुँदै कास्की प्रवेश गरेपछि लुम्ले आइनपुग्दै गाडी बिग्रियो ।
गाडी मर्मतको काम जारी नै थियो । हामी यात्रुहरु भने फुक्काफाल नै थियो । यो समयको उपयोग गरी हामीले ‘मिनी कन्सर्ट’ नै गर्यौं । बिएसएमको संयोजक मधुसुधन सुवेदी सरले गितार ल्याउनुभएको रहेछ, साथै उहाँसँग गितार बजाउने र गाउने सीप पनि रहेछ । यो पर्खाइको समयलाई मिनी कन्सर्टले पट्यारलाग्दो बन्न दिएन । गाडी चाँडै बनिहाल्ने अवस्था नदेखेपछि हामी अर्काे गाडीमा पोखरा फर्कियौं ।
हाम्रो चार दिनको मुस्ताङ यात्रालाई मुस्ताङ चिन्ने अवसरमात्रै बनेन, नेपाली खेलकुदलाई नजिकबाट बुझ्ने अवसरसमेत सावित भयो । २०५३ देखि २०५९ सम्म भलिबल खेलेका लेखनाथ लम्साल र २०७७ सालदेखि नेपाली महिला भलिबल टोली सम्हाल्दै आएकी अरुणा शाहीका अनुभव तथा भोगाई सुन्ने अवसर मिल्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं गण्डकी विश्वविद्यालय ‘ब्याचलर इन स्पोट्स म्यानेजमेन्ट’ संकायका संयोजक डा. मधुसूधन सुवेदीबाट अहिलेको खेलकुदको अवस्था, खेलकुदमा चाहिने सुशासन जस्ता विषयमा प्रशिक्षित हुन पाइयो ।
खेलकुदको व्यवस्थापकीय पाटोमा रहनुभएका प्रकाश पराजुली, सञ्जय आचार्य, मलिन राेक्का गौरव श्रेष्ठ र भगिरथ कँडेलबाट पनि धेरै कुरा सिक्ने अवसर मिल्यो । उहाँहरुसँग नेपाली खेलकुदको इतिहास, वर्तमान र भविष्यबारे भएको विमर्शले नेपाली खेलकुदलाई नजिकबाट नियाल्ने दृष्टिकोण बनाउन मद्दत गरेको छ । भन्छन्ः जिन्दगी नै एउटा यात्रा हो ।
घुमफिरमा मन बहलाउने, अरुका कुरा सुन्ने, हेर्ने, बुझ्ने र आफ्नो जीवनका सिर्जनात्मक पक्ष पहिल्याउने माध्यम यात्रा बन्न सक्छ । यही दृष्टिले पनि शैक्षिक भ्रमणका रुपमा भएको मुस्ताङ यात्रा मेरा लागि निकै फलदायी, यादगार र सार्थक बन्यो ।