शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षकको विज्ञापन खुलाएको छ । आयोगले आज निकालेको सूचना अनुसार सात प्रदेशमा गरी ६ सय ८८ जना शिक्षकका लागि विज्ञापन खुलेको छ ।
आयोगले नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृत व्याकरण र संस्कृत भाषा विषयमा शिक्षक माग गरेको छ । आवेदन दिन उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
परीक्षा दस्तुर सात सय रूपैयाँ र समावेशी समूहतर्फका थप विज्ञापनमा पाँच सय रूपैयाँ लाग्नेछ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सामान्य परीक्षा आउँदो जेठ १७ गते हुनेछ ।