म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछै रावण पार्कमा रावणको मुर्ती बाहेकको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले रु. एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रावणको मूर्तिसहित पार्क निर्माण गर्न थालिएको थियो ।
योजनाका बारेमा नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा आव २०७९/८० र २०८०/८१ मा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि निर्माण ४४ महिनासम्म निर्माण रोकिएको थियो । लामो समयको प्रयासपछि बजेट व्यवस्थापन गरेर २०७८ साल असारदेखि रोकिएको रावण पार्क निर्माणकार्यलाई लयमा फर्काएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताउनुभयो ।
“पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माणको काम करिब सकिएको छ । रावणको मूर्ति राख्ने ठाउँमा जग खन्न थालेका छन्”, उहाँले भन्नुभयो, “जसोतसो पार्क बन्ने देखिए पनि सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो नलागेसम्म रावणको मूर्ति राख्ने विषयमा अन्योल सृजना भएको छ ।”
ठेकेदारले रु १८ लाख खर्चेर पार्कमा राख्ने छ मिटर अग्लो रावणको मूर्ति तयार पारेका छन् । पर्वतका केदारनाथ दासले गत असारमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा रावणको प्रतिमा नराख्न अन्तरिम आदेश दिएको थियो ।
ऋषिमुनिहरूले तपस्या गरेको स्थानमा रावणको मूर्ति राख्न नहुने तर्कसहित परेको मुद्दामा अदालतबाट फैसला हुन भएको ढिलाइले अन्योल भएको वडाध्यक्ष बानियाँले बताउनुभयो । पछैस्थित पुलाश्रम मन्दिरका पुजारी जगदीश सुवेदीका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएको र उनको नाभि गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ ।
करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क बनाउन लागिएको हो । आश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माणको काम ७० प्रतिशत सकिएको ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् ।
घेराबारका लागि पर्खाल निर्माण भइसककेको छ । पार्क निर्माणले पर्यटन प्रवर्द्धन हुने स्थानीयले आशा गरेका छन् । समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा रहेको रावण पार्क निर्माणस्थल पछैबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ ।
यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा व्याख्या गरिएको छ । विसं २०६६ मा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा उद्यान बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो ।
विसं २०७४ देखि नै बजेट विनियोजन गरे पनि ठाउँको विवाद र स्रोतको अभावमा रामायण उद्यानको योजना कार्यान्वयन हुनसकेको थिएन । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक करिडोर बनाउने योजना पनि अघि सारिएको छ । बेनी बजारबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे हुँदै बाँसबोटसम्मको सडक कालोपत्र भएको छ । रासस