चिटिक्क बन्दै छ ५० शैयाको बेनी अस्पताल भवन (फोटो-भिडियो)

0
3

५० शैयाको बेनी अस्पतालको भवनमा लिफ्ट जडान भइरहेको छ । चार तले भवनको झ्यालढोका राख्ने,विद्युत, पानी जडान, रंगरोगन र टायल राखिएको छ । भवनभित्र र बाहिर मजदुरहरु धमाधम काम गरिरहेका छन् ।भवनको भुईतला देखि चौथो तलासम्म चिटिक्क देखिएको छ ।

खानेपानीको ट्याकी राखिएको छ, शौचालय, बिरामी कक्षहरूका साथै कार्यालय प्रयोजनका लागि आवश्यक संरचनाहरूमा पनि काम तिब्र गतिमा अगाडी बढेको छ । शुक्रबार अस्पताल भवनभित्र प्रवेश गर्दा चालु आवभित्रै नयाँ भवनबाट सेवा दिन सकिने अवस्था देखिएको बेनी अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष एवम् जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री बताउनुहुन्छ ।

‘हरेक दिन कामले गति लिएको छ, अब अस्थायी बाँकी रहेको कामलाई समेत पूर्णता दिएर भवनबाटै सेवा सञ्चालन गर्नेछौ’ अध्यक्ष खत्रीले भन्नुभयो । भवनभित्रका सबै संरचनालाई एकैसाथ सञ्चालनका लागि तयारी भइरहेको छ । भवन भित्र र बाहिर धमाधम काम भइरहेको अवस्थामा कोरोनाको समयमा प्रयोग भएको भवनबाट समेत बिरामीलाई हटाएर त्यहाँ टायल सहितका बाँकी काम समेत यसै महिना सम्पन्न गर्ने निर्माण ब्यवसायीले प्रतिबद्धता ब्यक्त गरेको बेनी अस्पतालले जनाएको छ ।

भुकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्री छ । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेशन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङले बि.स.२०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग१८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । हालसम्म ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको जनाइएको छ।