कालिगण्डकी कोरिडोर : पर्वत बेनीमा ९ मिटर कायम गरी सडक विस्तार गर्नुपर्ने

0
10

कालिगण्डकी कोरिडोर सडक आयोजनाको निर्माणाधीन मालढुङ्गा–बेनी सडक खण्ड अन्तर्गत पर्ने पर्वत बेनीमा सडक विस्तारमा स्थानीयको असन्तुष्टीलाई सहमतिको वातावरण बनाउन जलजला गाउँपालिकालाई अनुरोध गरिएको छ ।

म्याग्दी र मुस्ताङ जिल्लाको लाइफलाइन मानिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाको म्याग्दी प्रवेशद्धारमा जलजला गाउँपालिका–३ पर्वत बेनी बजार क्षेत्रका बासिन्दाको असहमतिका कारण रोकिएको कामलाई तत्काल अगाडी बढाउन जलजला गाउँपालिका अग्रसर हुनुपर्नेमा जोड दिइएको थियो ।

सर्वदलिय, सर्वपक्षीय भेलामा पर्वतबेनीमा सडक स्तरोन्नति सहित कालोपत्रेको काम अवरोध भए अगाडी बढाउन नसकिने मनसायमा कालीगण्डकी कोरिडोर रहेको भन्दै उक्त सडकखण्डमा अवरोध भए बैकल्पिक मार्गहरूको समेत खोजी गर्नुपर्नेमा बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो ।

‘बागलुङ हुदै आउनुपर्ने कोरिडोर पर्वतखण्डमा प्रवेश गरेको छ, यसको बैकल्पिक मार्गहरुलाई हामीले पहिचान गरेका छौ, अवरोध निरन्तर भए बैकल्पिक मार्गबाट भएपनि काम गर्नुपर्छ’ मेयर केसीले भन्नुभयो । स्थानीयको जायज माग सम्बोधन गर्न सकिने अवस्थामा सम्बन्धित निकायले समेत ध्यान दिनुपर्ने मेयर केसीको तर्क थियो ।

भेलामा नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष बिरबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव राजाराम बरुवाल लगायत विभिन्न राजनीिितक दलका प्रतिनिधिले समेत राष्ट्रिय गौरवको योजनालाई अवरोध नगर्न र समयमै सम्पन्न गर्न सहमतिको माध्यमबाट समाधान खोज्न अनुरोध गरेका थिए ।

सोही अवसरमा जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नाली सहितको ११ मिटर सडकको मापदण्ड भएपनि धेरै घरमा क्षती पुग्ने भएपछि ९ मिटरको सडक कायम गरी आयोजनाले कालोपत्रे गर्नेकार्यमा भइरहेको अवरोध प्रति असन्तुष्ट जनाउनुभएको थियो ।स्थानीय जनप्रतिनिधि सहितको टोलीले यसअगाडी दायाँबायाँ ९ मिटर मापदण्ड कायम गर्ने विषयमा सहमति जनाउनुभएको थियो ।

म्याग्दीको कालिपुल र पर्वतबेनी जोड्ने कालिगण्डकी मोटरेबल पुलदेखि ७ सय ८० मिटर दूरीमा पर्वत बेनी बजारका करिब ३० वटा पक्की घरहरूले ९ मिटरको मापदण्ड कायम गर्न तयार भएपनि वित्तिय कारोबार तथा भविस्यमा क्षती नहुने कागजमै सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो ।

सडकको मापदण्ड ११ मिटर चौढाइ भनेर तर्साउने र अहिले ९ मिटर भन्ने गरिएको भन्दै ९ मिटरमा स्थानीयले सहमति गरेपनि वित्तिय कारोबारमा देखिएको समस्यालाई समाधान गर्न समेत माग गर्नुभयो ।

आयोजनाले १३ किलोमिटर दूरी रहेको मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्रे र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीसँग २०७७ चैतमा ५२ करोड ८६ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा कालोपत्रे गरेपनि दुई वर्षमै जिर्ण भएको थियो ।

ट्रयाक खुलेको करिब तीन दशकपछि यो सडक विस्तार भइरहेको छ । सडकखण्ड उपल्लो मुस्ताङ हुदै चिनको तिब्वत जोड्ने कोरला नाकाससम्म पुग्छ ।