जनशक्ति उत्पादन गर्न बेनीमा व्यावसायिक सिपमूलक तालिम सुरु

0
14
व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कुश्मा पर्वतको आयोजनामा सिप विकास सम्बन्धी तालिम शुक्रवारदेखि म्याग्दीको बेनीमा सुरु भएको छ । केन्द्रको चालु आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार दक्ष तथा सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो ।
ज्ञान तथा सिपको अभावमा रहेका सर्वसाधारण एवं नागरिकहरुलाई लक्षित गरेर सिप सिकाउने र उनीहरुलाई आत्मनिर्भर बनाउनको लागि सदरमुकाम बेनीमा तीन महिने सिपमूलक सम्बन्धी तालिम सञ्चालन गरिएको व्यवसायिक तथा सिप विकास तालिम केन्द्रले जनाएको छ । केन्द्रको आयोजना र बेनी नगरपालिकाको समन्वयमा प्लम्बिङ तथा मन्टेश्वरी सम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पछिल्लो समय गाउँघरमा दक्ष जनशक्ति नहुँदा हरेक काममा समस्या भैरहेको हुँदा सिप सम्बन्धी तालिम आयोजना गरिएको बताउनुभयो ।
उहाँले बेनी नगरपालिकामार्फत सिप विकास तालिम केन्द्रलगायत अन्य संघसंस्थाहरुसँग पनि आवश्यक समन्वय गरी विभिन्न किसिमका सिपमूलक तालिम र गोष्ठीहरु सञ्चालन गरिरहेको बताउँदै तालिमलाई भरपुर रुपमा उपयोग गर्न सुझाव दिनुभयो । तालिममा सिकेको सिपलाई श्रमसँग जोड्न आवश्यक रहेको नगर प्रमुख केसीको भनाइ छ ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले तालिम सिपमूलक भएकाले तालिमको अवधिभर पूर्ण रुपमा सक्रिय भई तालिम लिन सहभागीहरुलाई आग्रह गर्नुभयो । केन्द्र प्रमुख मोहनचन्द्र रेग्मीले सिप सिकाएर स्वरोजगार बनाउने तथा बेरोजगार र गरिबी घटाउनको लागि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । मन्टेश्वरी तथा प्लम्बिङ तालिममा कुल ४० जनाको सहभागिता रहेको छ ।
तालिमको उद्घाटनसत्र केन्द्र प्रमुख सुवेदीको अध्यक्षता, लेखा अधिकृत नेत्रप्रसाद रेग्मीको स्वागत र बेनी नगरपालिकाका सहायक प्रशासकीय अधिकृत लक्ष्मण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । तीन महिनासम्म सञ्चालन हुने तालिम दैनिक ५ घण्टाको दरले चल्नेछ ।