बुद्धिजीवी परिषद नेपाल जिल्ला कमिटी म्याग्दीको शनिवार सदरमुकाम बेनीमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट डेकबहादुर बानियाँको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चयन भएको छ । अधिवेशनले कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिवमा हिराबहादुर बरुवाल, कोषाध्यक्षमा खगेश्वर रिजाल, उपसचिवमा विष्णुकुमारी रोका र दिपक सुवेदी निर्वाचित भएका हुन् ।
यसैगरी अधिवेशनबाट कमिटीको सदस्यहरुमा ज्ञानु बानियाँ, मनिता रायमाझी, छबि पूर्जा, शारदा सुवेदी, मुकुन्द रेग्मी, सुमन पौडेल, योगेश शर्मा, रघुनाथ न्यौपाने, रेगुन खत्री, डा. नन्दबहादुर खत्री, गोपाल केसी, जीबनाथ पौडेल र तारानाथ सुवेदी चयन भएको परिषदका निवर्तमान अध्यक्ष गोरखनाथ सुवेदीले बताउनुभयो । अधिवेशनको नेपाल वुद्धिजीवी परिषद् नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विधान आचार्यले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनपछि अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष आचार्यले खराब सोच र नकारात्मक प्रचारबाजी गर्नेको संख्या पछिल्लो समय बढ्दै गैरहेको हुँदा सचेत हुनुपर्ने बताउनुभयो । नकारात्मक सोच र नकारात्मक प्रचारबाजीमै उद्धत हुनेहरुको समूह बढ्दो क्रममा रहेकाले देशमा अराजकता र अस्थिरता फैलने उहाँको भनाइ थियो । त्यही अस्थिरता र अराजकता फैलाउने समूहकै कारण शुक्रवार काठमाडौंमा पत्रकारसहित दुई जनाको मृत्यु हुनुका साथै कयौं घाइते र धेरै सम्पतिको नोक्सानी भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व सांसद भूपेन्द्रबहादुर थापाले संविधानको राम्रा पक्षका साथै गणतन्त्रको सुन्दरताको बारेमा सबैलाई बुझाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले देशमा नकारात्मकताका साथै अराजक गतिविधि गर्नेहरुले आफ्नै मुलुक र राज्यसत्ताको विरोध तथा बेइज्जत गर्नेतर्फ लागेकोले यस्ता गतिविधिहरुको विरुद्धमा सही र सचेत विचार बाहिर ल्याउन बुद्धिजीवीहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नरदेवी पुन, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख प्राध्यापक डाक्टर राजेन्द्र चापागाईँ, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम बुद्धिजीवी परिषद म्याग्दी जिल्ला कमिटीका निवर्तमान अध्यक्ष गोरखनाथ सुवेदीको अध्यक्षता, सचिव नारायण पौडेलको सञ्चालन र सहसचिव हिराबहादुर बरुवालको स्वागतमा सम्पन्न भएको थियो ।