ढोरपाटनमा यसवर्षको दोस्रो शिकार याम : १३ नाउर, १० झारल र १२ बँदेलको शिकार गरिने

0
18

धौलागिरी हिमश्रृंखला भित्र बाग्लुङ, रुकुम र म्याग्दीमा फैलिएको नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकार याम चलिरहेको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार गरिने भएको हो ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गएको माघ १५ मा शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा शिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छ वटा कम्पनीले अनुमति पाएका छन् ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका शिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा शिकार खेल्न आउन थालेका छन् । ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार दोस्रो याममा आउँदो वैशाख १६ गतेसम्म शिकारीले सिकार खेल्न पाउने छन् ।

अहिलेसम्म दुई नाउर मात्र शिकार भएको उहाँले बताउनुभयो । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले शिकारीमार्फत दुई नाउर र दुई बँदेल शिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर शिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी शिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल शिकार गर्ने अनुमति पाएका थिए । रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन शिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई शिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन् ।

नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन शिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल शिकार गर्ने अनुमति पाएका छन् । ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन शिकारीले एक नाउर, दुई झारल र तीन वटा बँदेलको शिकार गर्न अनुमति पाएका छन् । यो शिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट शिकारी आएको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा झारलको आठ लाख, नाउरको छ लाख २५ हजार पाँच सय तोकिएको छ ।

यसपाली सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा शिकार भइरहेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । दोस्रो याममा एक करोड २६ लाख राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । शिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ । ढोरपाटनमा हरेक वर्ष दुई याम असोजदेखि मङ्सिर र फागुनदेखि वैशाखमा शिकार खुला हुन्छ ।