हेभी सवारीसाधनले बेलिब्रिज छियाछिया

0
12

गण्डकी प्रदेशको ‘लाइफलाइन’ बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको उत्तरी क्षेत्रका बेलिब्रिजमा ‘हेभी’ सवारीसाधन आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेपछि जिल्ला ट्राफिक कार्यालयले कडाई गरेको छ । बेलिब्रिज र पक्की पुलको क्षमता मापन नगरी धेरै टन ढुवानी गर्दा फलामे बेलिब्रिजमा ठड्याइएका पाता, नटबोल्ट जीर्ण बन्दै गएपछि १२, १४ र १८ चक्केसम्मका सवारीसाधनलाई कडाई गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजकुमार केसीले बताए ।

‘पुलले धान्नै सक्दैन, अब पनि कडाई नगरे दुर्घटनाको जोखिम भएकाले कडाई गरिएको छ’ प्रमुख केसीले भने । म्याग्दी खण्डमा भुरुङ तातोपानी, रुप्से झरना र मुस्ताङमा करिब ३ वटा पुलहरूमा ‘हेभी’ सवारीसाधन आवतजावत नगर्ने गरी सामान ढुवानी गर्न अनुरोध समेत गरिएको छ ।

उत्तरी म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनलाई आवश्यक पर्ने ट्रान्सफर्मरसहित हेभी इक्युमेन्टसम्बन्धी सरकारी निकायको निगरानी बिनै पुलमा सामान्य ‘सर्पोट’ राखेर सवारीसाधन आवतजावत गर्दा विगतमा समेत पुलमा क्षती भएको थियो ।

म्याग्दी र पर्वत जोड्ने कालिपुल सहित सडकखण्डमा बनेका पुलमा भारवहन क्षमताको मापन गर्ने सरकारी निकायको प्राविधिक क्षेत्र नै बेखवर छ । क्षमताभन्दा बढी भारवहन सवारी पुल हुँदै आवतजावत गर्दा समस्या भएपछि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले क्षमताभन्दा बढी सवारीसाधनलाई आवतजावतमा कडाई गर्न भनेपछि ट्राफिक प्रहरीले सक्रियता देखाएको छ ।

प्रजिअ ढकालले ठूला सवारीसाधन आवतजावत गर्ने क्षेत्रमा रहेका पुलको प्राविधिक पक्षसँग स्थलगत रुपमै अनुगमन गरी प्रतिवेदन समेत तयार गर्ने सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत नयाँ पुलको डिजाइन गर्दा तोकिएको भारवन क्षमताका बारेमा समेत अस्पष्ट भएकाले जलविद्युत् र सवस्टेशनका प्राविधिकले पुलमा थप सर्पोट राखेर ढुवानी गर्ने गरेका छन् ।