म्याग्दीका पत्रकारहरुले आइतबार हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा काम गरेका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा एभिन्युजका पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ म्याग्दीको आह्वानमा पत्रकारहरु कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएको उपाध्यक्ष दलप्रसाद विश्वकर्माले बताउनुभयो ।
आफ्नो कार्यलय र समचार संकलनमा जाने क्रममा हातमा कालो पट्टी बाँधेर शुक्रबार भएको घटनाको विरोध जनाएको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जनाएको छ। भोलि सोमबार प्रमुख जिल्ला अधिकारीमार्फतकार्यक्षेत्रमा पत्रकारको सुरक्षाको ग्यारेन्टीको माग गर्दै ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेको सचिव ठाकुरप्रसाद आचार्यले जानकारी दिनुभयो ।
शाखा अध्यक्ष हरिकृष्ण गौतमले राजनीतिक मुद्दाका आडमा र अन्य विभिन्न बाहनामा पत्रकार र संचार माध्यममाथिको आक्रमण सह्य नभएको बताउँदै अवाञ्छित र अराजक गतिविधिको सधै विरोधमा गर्ने बताउनुभयो । स्वर्गीय रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गदैं शनिबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएर दबाबमुलक कार्यक्रम गरिएको थियो ।