वार्षिक सात सय ३० मेट्रिक टन चुत्रो र गुर्जो संकलन गर्ने लक्ष्य राखेको उद्योगले चार महिनामा २० टनभन्दा बढीको काम गर्न नसकेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले चुत्रो र गुर्जो प्रशोधन गरी धुलो बनाएर चीन पठाउने गरेको छ।
जिल्लाको जलजला गाउँपालिका वडा नं ६ शालिजाका युवा शेरबहादुर पुनले दुई सातामै एक हजार पाँच सय किलो चुत्रो र गुर्जो बिक्री गरेर ५५ हजार आम्दानी गरेको जानकारी दिए। घरभन्दा माथि रहेको तारे सामुदायिक वनबाट उक्त मात्रामा संकलन गरिएको हो। यस्तै, फलेवास नगरपालिका वडा नं ७ लिमीठानाका जगन्नाथ शर्माले बिक्री हुन थालेपछि चुत्रो र गुर्जो खोज्न वनजंगल जानेको संख्या बढेको बताए। उनले चुत्रो सहजै संकलन गर्न सकिने भए पनि गुर्जो खोज्न भने समय लाग्ने बताए। शर्माले यसको उपयोगसँगै खेतीसमेत विस्तार गर्नतर्फ ध्यान दिनुपर्ने बताए।
औषधिजन्य वनस्पति चुत्रो र गुर्जो संकलन तथा बिक्री भए पनि यसको दीर्घकालीन उपयोग र खेती विस्तारमा ध्यान नदिइएको भन्दै सरोकारवालाले विरोध जनाएका छन्। नागरिकको विरोध बढेपछि डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको संयुक्त टोलीले उद्योगको स्थलगत अनुगमन गरेको थियो।
वन कार्यालयले अनुगमनपछि कम्पनीले आवश्यक कानुनी प्रक्रिया नपुर्याएको भन्दै पत्राचार गरी तत्काल संकलन कार्य रोक्न आदेश दिएको भए पनि कम्पनीले अटेर गर्दै धमाधम प्रशोधन गरिरहेको स्थानीयले बताए। डिभिजन वन अधिकृत झ्यामनारायण सापकोटाका अनुसार विदेशी कम्पनीले प्रारम्भिक वातावरणीय परीक्षण नगरी परियोजना सञ्चालन गरिरहेको देखिएको थियो।
डिभिजन वन कार्यालयले पत्राचार गरेर यो विषयमा आफ्नो सरोकार देखाएजस्तो गरेको भए पनि व्यक्तिको दर्ता स्रेस्ता कायम भएका नम्बरी आबादीमा रहेका वनबाट जडीबुटी संकलन तथा ओसारपसारका लागि अनुमति दिन परिपत्र जारी गरिरहेको छ। कार्यालयले गण्डकी प्रदेश वन नियमावली २०८१ को अनुसूची १६ मा कायम गुर्जो र चुत्रो संकलन तथा ओसारपसार गर्न अनुमति प्रदान गरिएको सापकोटाले बताए।
डिभिजन वन अधिकृत सापकोटाले व्यक्तिगत वनबाट ल्याउने कुरालाई आफूहरूले रोक्न नमिल्ने बताए। कार्यालयका अनुसार पर्वतबाट यही पुसदेखि गुर्जो १० हजार पाँच सय किलो र चुत्रो तीन हजार किलो मात्र संकलन गरिएको छ। छिफु बायोटेक्नोलोजीका व्यवस्थापक हरिकुमार श्रेष्ठले भने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत नभइसकेको तर अन्तिम प्रक्रियामा रहेको बताए। उद्योग परीक्षणकै क्रममा किसानले ठूलो परिमाणमा चुत्रो र गुर्जो संकलन गरेर ल्याएपछि वन कार्यालयले रोकेको दाबी गरे।
पैयुँ गाउँपालिकाले गत फागुन २७ मा चुत्रो र गुर्जो संकलन कार्य रोक्न सूचना नै जारी गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले गाउँपालिकाले अहिले पूर्ण रूपमा संकलन कार्यमा रोक लगाएको बताए। डिभिजन वन कार्यालयले गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो र गुर्जो पहाडी भेगमा सबैजसो ठाउँमा पाइने जनाएको छ। कम्पनीले पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, अर्घाखाँची, गुल्मी, स्याङ्जालगायत जिल्लालाई केन्द्रित गरेर प्रशोधन उद्योग सञ्चालन गरेको बताएको छ। रासस