नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी भइरहँदा अर्थ मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको उमेरहद हटाएको छ ।
गभर्नर र मन्त्रालय मातहत निकायका अरु पदमा जति उमेरको व्यक्ति पनि नियुक्त हुन पाउने गरी मापदण्ड संशोधन गरिएको हो । ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ (दोस्रो संशोधन) मार्फत उमेरहद हटाइएको छ ।
सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्डमा कार्यकारी प्रमुखको हकमा ३० वर्ष र अरु पदाधिकारी तथा सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको भन्ने व्यवस्था थियो । अहिले गरिएको संशोधनमा उमेरहदको व्यवस्था हटाइएको छ ।
मापदण्डमा अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय भनेर राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, धितोपत्र बोर्डलगायत १५ वटा संस्था छन् ।
यही चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिँदै छ । अघिल्लो हप्ता सोमवार मन्त्रिपरिषद्ले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर सिफारिश समिति गठन गरेको छ ।
समितिले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति तथा डेपुटी गभर्नरमध्येबाट एक जनासहित तीन जनाको नाम सिफारिश गर्नुपर्ने कानूनी व्यवस्था छ ।