बेनी । जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सुमन श्रेष्ठ मनोनित हुनुभएको छ । खेलकुद विकास समितिको उपाध्यक्ष विष्णु रोका मगर ,सचिव कुमार किशान र कोषाध्यक्षमा नरेश पुन मगर मनोनित हुनुभएको छ । मनोनित सबै पदाधिकारीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको रोहबरमा परिषदका सदस्य सचिब श्रीधर शर्माले सपथ ग्रहण गराउनुभएको हो ।
अध्यक्षमा मनोनित अध्यक्ष श्रेष्ठ नेपाल तरुणदलका केन्द्रिय सदस्य समेत हुनुहुन्छ । जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्थामा आवद्ध श्रेष्ठ सफल युवा व्यवसायीको रुपमा समेत परिचित हुनुहुन्छ ।
जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष बन्नुभएकी रोका म्याग्दी जिल्ला भलिबल संघमा कोषाध्यक्ष र सचिव किसान भलिबल संघ म्याग्दीकै महासचिव हुनुहुन्छ । भने कोषाध्यक्ष नरेश पुन मगर म्याग्दी भलिबल संघ मालिका गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।
सोही अवसरमा म्याग्दी सहित ८ जिल्लामा पदाधिकारी मनोनयन भएका छन् । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरु गत फागुन ९ गते रिक्त भएका थिए । गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सरकारमा सहकार्यको भूमिकामा रहेको नेकपा एमालेले भागवण्डाको आधारमा खेलकुद विकास समितिका पदाधिकारीहरु मनोनयन गरेको हो । सोही बमोजिम म्याग्दीबाट अध्यक्ष सहित कोषाध्यक्ष कांग्रेस तथा उपाध्यक्ष र सचिव एमालेको भागमा परेको थियो ।