रक्सी बिर्सिएर रोटमा रमाउँदै ‘डम्बर दाई’

0
56

चैत महिनाको चर्को घाम ताते पनि डम्बर मल्लको अनुहारमा पसिना र सन्तुष्टि दुवै झल्किन्छन्। बागलुङ नगरपालिका–१ भगवतीरोडस्थित कालिका मन्दिरको गेट अगाडि उनी दाउरा ठोस्दै चुल्हो तापाउँदै रोट पकाउन व्यस्त देखिन्छन्। कुनै समय अत्यधिक मदिरा सेवन गरेर झैझगडा गर्ने उनी अहिले मन्दिरमा आउने भक्तजनलाई कालिकामाताको महिमा सुनाउँदै रोट विक्री गर्छन्।

डम्बरको जीवनशैलीमा आएको परिवर्तन देख्ने धेरैजसो भक्तजन उनलाई माया र सम्मानसाथ ‘डम्बर दाइ’ भनेर सम्बोधन गर्छन्। उनी भन्छन्, ‘कालिकामाताको कृपाले यो पवित्र काममा लागें। पहिले साथीभाइसँग भेटेर रक्सी पिउने बानीले जीवन बिग्रिएको थियो। अहिले भने सन्तुष्ट छु।’

मल्लले २०७६ सालदेखि कालिका मन्दिरको गेटमा रोट बनाउने र विक्री गर्ने काम सुरु गरेका हुन्। तत्कालीन कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको प्रेरणाले उनी यो पेसामा प्रवेश गरेका थिए।

‘त्यतिबेला राजु दाइले धेरै रक्सी सेवन गरेर हिँडेको देखेर सुझाव दिनुभयो- भाइ, चोखो निष्ठाले रोट बनाऊ।’ डम्बर सम्झन्छन्, ‘त्यति बेला रोट बनाउने ज्ञान थिएन। तर एकदिन परिवारसँग घुम्न निस्कँदा पाल्पाको भैरवस्थान पुगेँ। त्यहाँ रोट बनाउने तरिका देखेँ र सिकेँ। त्यसपछि फर्किएर यही काम थालेँ।’

चैत्राष्टमी सुरु भएसँगै डम्बर मल्लको हात खालि हुने फुर्सद छैन। सामान्य दिनमा दैनिक ८–१० वटा मात्रै रोट बनाउने उनी अहिले दुर्गा लागेसँगै पाँच–छ गुणा बढी रोट बनाउँदै छन्। ‘अहिले भक्तजन बढेका छन्। रोटको माग पनि अत्यधिक छ। त्यसैले पुर्‍याउन मुस्किल भइरहेको छ,’ उनी भन्छन्।

रोट बनाउन चामलको पिठोमा ल्वाङ, नविरल, चिनी र अन्य नैवैद्य सामग्री मिसाएर तयार गरिन्छ। एउटा रोट बनाउन झण्डै एक माना चामलको पिठो र २०० ग्राम लोकल घिउ लाग्छ। यस्तो रोट मल्ल भक्तजनलाई प्रति थान ४०० रुपैयाँमा विक्री गर्छन्।

‘कसैले एउटामात्रै रोट मगाउँछ भने फाइदा हुँदैन। सामग्री धेरै लाग्छ। तर धेरै रोटको अर्डर हुँदा खर्च कम हुने भएकाले फाइदा हुन्छ,’ उनी स्पष्ट पार्छन्। रोट पाक्न करिब ४५ मिनेट लाग्ने भएकाले अत्यधिक माग भएको बेला उनी भोरैदेखि उठेर काममा लाग्न बाध्य हुन्छन्।

‘अहिले त मध्यरात कटेपछि उठ्छु। नुहाईधोई गरेर चुल्हो तताउन थाल्छु। चार वटा चुल्होमा पालैपालो रोट पकाउँछु,’ उनी सुनाउँछन्।

रोट बनाउने र बेच्ने कामले डम्बर मल्ललाई आन्तरिक खुसी र आत्मगौरव दिलाएको छ। ‘एक पटक त एकजना भक्तजनले रोट चढाएपछि खुसी भएर मलाई २५ सय रुपैयाँ बक्सिस दिनुभयो,’ उनी सम्झन्छन्, ‘यस्ता साना घटनाले ठूलो सन्तुष्टि मिल्दो रहेछ।’

पहिले पहिले मन्दिरमा रोट चढाउने परम्परा बलियो थियो। पछिल्लो पुस्तामा यसको महत्व हराउँदै गएपछि मल्लले यसलाई पुनर्जीवित गर्ने अभियानस्वरूप रोट बनाउने पेसा थालेका हुन्। ‘पहिले म रोटको महत्त्व थाहा थिएन। जब जान्न थालेँ, छोराछोरीलाई पनि सिकाएँ। अहिले उनीहरूलाई पनि रोट र यसको धार्मिक अर्थ थाहा भएको छ,’ उनी भन्छन्।

डम्बर मल्लको यो यात्रामा परिवारको साथ पनि महत्वपूर्ण रह्यो। उनी आफ्नो कामलाई अझ विस्तार गर्ने योजनामा छन्। ‘अहिले चारवटा चुल्हो छन्। भविष्यमा माग अझै बढे विस्तृत तयारी गरेर ठूलो मात्रामा रोट बनाउन सकिन्छ,’ उनले भविष्य देखाउँदै सुनाए।

रक्सी छाडेर धार्मिक जागरणमार्फत नयाँ जीवनको सुरुवात गरेका डम्बर मल्ल आज बागलुङको कालिका मन्दिरमा मात्र होइन, सम्पूर्ण नगरमा एक प्रेरणादायी व्यक्तित्व बनेका छन्।