आज रामनवमी : भगवान् रामको जन्मोत्सवमा श्रद्धा र भक्तिको उल्लास

0
12

चैत्र शुक्ल नवमीको दिन मनाइने रामनवमी पर्व आज भगवान् रामचन्द्रको पूजा र आराधना गरी मनाइँदै छ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्याको छोराका रूपमा रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीमै भएको थियो। विष्णुको सातौँ अवतार मानिने उनको जन्म पुनर्वसु नक्षत्रमा भएको थियो। कुण्डलीमा चन्द्रमा र वृहस्पतिसहित कर्कट लग्नको योग थियो।

रामचन्द्रको कुण्डलीमा सूर्य, मंगल, गुरु, शुक्र र शनि गरी पाँच ग्रह एकसाथ हुने दुर्लभ योग थियो। वर्षका चार नवरात्रमध्ये वासन्तीय नवरात्रको नवमीमा जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम भन्छन्, ‘रामनवमी मनाउनुको अर्थ रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नु हो।’

उनी थप्छन्, ‘रामको राज्यमा सबै मानिस सुखी थिए। त्यसबेला जनता पनि अनुशासित र मर्यादित थिए। त्यही कारण रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ। हामीले यो अनुसरण गर्न सके मात्र यो पर्वको अर्थ हुन्छ।’

गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरेर नवमीमा रामचन्द्रको पूजा, जप, पाठ र ध्यान गर्नाले मनले चाहेको काम पूरा हुन्छ। यो अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन हुन्छ। रामनवमीमा देवीको पूजा गरेर रामचन्द्रको आराधना गर्दा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ।

पहिले वासन्तीय नवरात्रलाई नै मुख्य दसैँ मानिन्थ्यो, तर गर्मी बढेपछि असोजमा मनाउन थालिएको भनाइ छ। चैत र असोजको नवरात्रलाई जाग्रत दसैँ र पुस तथा असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ।

व्रतार्क ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत र उपवास गरी रामचन्द्रको पूजा गर्नाले धेरै जन्मका पाप नाश भई वैकुण्ठ प्राप्त हुन्छ भनिएको छ। असत्यमाथि सत्यको विजय र भगवान् रामको सम्झनामा मनाइने यो पर्वमा रामका मन्दिरहरूमा पूजापाठ हुन्छ। जनकपुरको रामजानकी मन्दिरमा मेला लाग्छ र नेपाल तथा भारतबाट आउने भक्तजनको भीड हुन्छ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा रामचन्द्रको जन्म भएको सम्झनामा पवित्र नदी, ताल र कुण्डमा स्नान गरी व्रत बस्ने, रामगीता पाठ गर्ने, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने तथा रातभर भजनकीर्तन गर्ने चलन छ।

आज व्रत बसी रामको पूजा र जप गर्नाले चाहेको कुरा पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने व्रतार्क ग्रन्थमा लेखिएको छ। अयोध्याका राजा दशरथका जेठा छोरा तथा विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेर पापी र दुष्ट राक्षसहरूको नाश गरेका थिए। उनले आफ्ना पिताको कठोर आज्ञा सहजै स्वीकार गरी मानवजातिलाई सत्यको बाटोमा लाग्न प्रेरणा दिएकाले यो पर्व मनाइन्छ भनी धार्मिक ग्रन्थमा उल्लेख छ। रासस