म्याग्दी कोराला यातायात प्रालिले विद्यार्थीलाई परिचयपत्रको आधारमा विद्यार्थीलाई छुट सुविधा सार्वजनिक गरेको छ । कोरला यातायात प्रालिले लामो दुरीको यातायात भाडा दरमा विद्यार्थीलाई सहुलियत छुट दिने घोषणा गरेको हो ।
म्याग्दी कोरला यातायात प्रालिले म्याग्दी जिल्ला भित्र र पर्वतको जलजला गाउँपालिका भित्रका विद्यार्थीकालागी परिक्षण स्वरुप गत शुक्रवार साँझदेखी लागु हुने गरी बेनी–काठमाण्डौ, पोखरा समेतका लामो दुरीका बसमा छुट दिन लागेको प्रालिका अध्यक्ष मोहन केसीले बताउनुभयो ।
बेनीदेखी काठमाण्डौसम्मका बस भाडा एक हजार पाँच सय र पोखरासम्मको भाडा ५ सय रहेकोमा कोरला वसले पहिलो चरणमा तोकिएका क्षेत्रका २५ बर्ष भित्रका विद्यार्थीका लागी ३० प्रतिशत र २५ बर्षभन्दा माथीका विद्यार्थीकालागी १५ प्रतिशत टिकटमा छुट दिन लागेको अध्यक्ष केसीको भनाई छ ।
यसअगाडी दिर्घरोगी र ओमकुमारी शान्ति कोषको सिफारिसमा बिरामीलाई निशुल्क सेवा दिइरहेको कोरलाले अपाङ्गता भएका व्यक्तिहरू र जेष्ठ नागरिकहरूका लागि ५० प्रतिशत छुट नियमित प्रदान गर्ने गरेको छ ।
कोरालाका अनुसार परीक्षण अवधिमा छुट सुविधा जारी रहनेछ र जिल्लास्तरीय सरोकारवाला निकायले अन्य निर्णय नगरेसम्म यो व्यवस्था कायम रहनेछ । हरेक महिना छुट दिएका विद्यार्थीको विवरण सहितको जानकारी सम्बन्धित निकायलाई समेत उपलब्ध गराइने छ । म्याग्दीका विद्यार्थी संगठनले जिल्लाभित्र र बाहिरी सहरमा जाने सार्वजनिक सवारीसाधनमा छुटको माग गरिरहेको अवस्थामा कोरला बसले पहिलो छुट सुविधा घोषणा गरेको हो ।