ऐतिहासिक चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ। मेलाको मुख्य आकर्षण पहिचानको रुपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जितेका हुन् ।
फाइनल प्रतिस्पर्धामा बागलुङ प्रतिष्ठानलाई पराजित गर्दै म्याग्दी प्रतिष्ठानले उपाधि हात पारेको हो । प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन खड्का र निशा गुरुङ द्धितिय भए । तृतीय स्थान नगरकोट दोहोरी साँझका सविन आचार्य र जमुना सुनार तथा कास्की प्रतिष्ठानका अनिल चापागाई र आर्चना चापागाईले प्राप्त गरे । दुवै टिमले बराबर अङ्क प्राप्त गरेका थिए।
प्रतियोगितामा १६ टिमले नाम दर्ता गराएका मध्ये १४ टिमले सहभागिता जनाएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । प्रतियोगिताको विजेता म्याग्दी प्रतिष्ठानले २ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । यसैगरी द्धितिय भएको बागलुङ प्रतिष्ठानले एक लाख रुपियाँ र तृतीय हुन सफल नगरकोट दोहारी साँझ र कास्की प्रतिष्ठानले ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा नायक दोहोरी साँझका सरोज सिम्खडा सर्वोकृष्ट दोहोरी गायक र नगरकोट दोहोरी साँझकी जमुना सुनार सर्वोत्कृष्ट दोहारी गायिका बन्नुभयो । उहाँहरुले समान नगद ५–५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । सुरेन्द्र र संगिनाको समुह अनुशासित समुह घोषित भए ।दोहोरी गीत प्रतियोगिता चैत्राष्टमी मेलाको ऐतिहासिक प्रतियोगिता हो ।