प्रा.डा.बोजिन्द्र तुलाचन दक्षिण कोरियाको सोलस्थित खाङ्स विश्वविद्यालयको अन्तराष्ट्रिय अध्ययन विभागको विभागीय प्रमुखमा नियुक्त हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगाका डा.तुलाचनले हालै उक्त विश्वविद्यालयले विभागीय नियुक्ती गरी पदस्थापन गरेको छ ।
मोना दक्षिण कोरियाका सल्लाहकार डा. तुलाचनले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले विभुषित गर्ने नेपाल विद्याभूषण ‘क’ विभूषण प्राप्त गर्नुभएको थियो । डा.तुलाचन अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक मनोविज्ञानमा नेपालको पहिलो अनुसन्धानकर्ता समेत हुनुहुन्छ ।
विश्वभरका ३४ देशका विद्यार्थीमा ४.४५ जिपिए लिएर राष्ट्रिपति अवार्ड, आजु विश्वविद्यालयबाट समेत सम्मानित हुनुभएका डा. तुलाचनले दक्षिण कोरियामा विश्वविद्यालयस्तरमा विभिन्न अनुसन्धानमा समेत आफ्नो पहिचान बनाउनुभएको छ ।
धौलागिरी मावि सिंगाबाट एसएलसी दिएर म्याग्दी बहुमुखी क्याम्पसबाट इन्टरमेडिट तथा स्नातक तह आरआर क्याम्पसबाट गर्नुभएको थियो । डा.तुलाचनले दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट मानव संसाधन व्यवस्थापनमा पीएचडी गरेका डा. तुलाचनले अन्तर्राष्ट्रिय स्तरमा ट्रेड युनियन अध्ययनमा अनुसन्धान गर्नुभएको थियो ।
म्याग्दी बहुमुखी क्याम्पसमा ‘गेस्ट लेक्चर’को रुपमा उपस्थित भएर म्याग्दीका विद्यार्थीलाई समेत विश्वबजारको शैक्षिक अवस्था सहित लक्ष्य प्राप्तीका बारेमा जानकारी गराउनुभएको थियो । ‘‘यो एउटा अवसर हो, मैले यसलाई विश्वभरका विद्यार्थीको क्षमता विकासमा जोड्नेछु’’ डा. तुलाचनले बेनीअनलाइनलाई भन्नुभयो ।
डा. तुलाचनले आजु विश्वविद्यालयबाट मानव संसाधन व्यवस्थापनमा पीएचडी अन्तर्राष्ट्रिय विकास र सहयोगमा आजु विश्वविद्यालयबाटै स्नातकोत्तर, अङ्ग्रेजी साहित्य, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तथा आजु विश्वविद्यालयको भिजिटिंग स्कलर समेत हुनुहुन्छ ।
प्रा.डा. तुलाचनले विद्यार्थी सफल हुनका लागि आफ्नो क्षमतालाई सबैभन्दा पहिला सम्मान गर्नुपर्ने बताउनुभयो । नेपालको शैक्षिक गतिविधिलाई पाठ्यक्रम अनुसार नियमित इन्टर्नसिपको वातावरण बनाउन सकेमा संसारको कुनै पनि ठाउँमा प्रतिस्पर्धा गर्न सक्ने डा. तुलाचनको भनाई छ ।