प्रशासनमा थन्किएका राष्ट्रिय परिचयपत्र वडामा लगेर वितरण सुरू

0
104

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण सुरू गरिएको छ । राष्ट्रिय परिचय बनाउन हतार गरेपनि छपाइ भएर आएका परिचयपत्रलाई लिन नआएपछि धवलागिरी गाउँपालिका-७, ताकमबाट वितरण सुरू गरिएको हो ।

वडा कार्यालयबाट प्रशासनका प्रतिनिधि कम्प्यूटर अपरेटर बिष्णु खत्री सहितको टोलीले वडा कार्यालयमै पुगेर ३ सय भन्दा बढी पुरानो परिचयपत्र वितरण गरेको र वडाको घुम्ती शिविरमा विवरण संकलन गरिएकालाई नम्बर वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनशक्तीको अभावका कारण पहिलो चरणमा धवलागिरी गाउँपालिका भित्र वितरण गरिने बताउनुभयो । ‘वडाको घुम्ती शिविरमा विवरण संकलन गरेकाहरूको कार्ड आइपुगेको छैन, हामीले परिचयपत्र नम्बर उपलब्ध गराउँछौ, कार्ड नआउँदासम्म सरकारी कामका लागि प्रयोग गर्न मिल्छ’ प्रजिअ ढकालले भन्नुभयो।

जिल्लाका ६ वटै स्थानीय तहको वडास्तरमै पुगेर सञ्चालित शिविरमा ३५ हजारभन्दा बढीको विवरण संकलन गरिएको थियो । म्याग्दीका स्थानीय तहसँग सहकार्य गरी प्रशासनमा थन्किएका रहेको परिचयपत्रहरु वितरणलाई तिब्रता दिने प्रजिअ ढकालको भनाई छ ।

राहदानी तथा विभिन्न सेवा लिन जिल्ला प्रशासनमा आएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम भरेको लामो समयसम्म पनि परिचयपत्र लिन नआएको २१ हजारको हाराहारीम परिचयपत्र वितरण हुन सकेको छैन । जिल्ला प्रशासनमा हालसम्म २८ हजार राष्ट्रिय परिचयपत्र तयार भएको छ । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनःबायोमेट्रिक गर्नुपर्छ।