म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालू वसन्त यामको आरोहण शुरू भएको छ ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण शुरू भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण संघले जनाएको छ ।
संघका महासचिव मोहन लम्सालका अनुसार सेभेन समिट ट्रयाकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसनबाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुई जनाले अन्नपूर्णको सफल आरोहण गरेका छन् ।अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए ।
आरोहण टोलीका दुई जना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन् भने अरू सकुशल आधार शिविर फर्किएका छन् ।क्याम्प दुई र तीनको बीचमा हिउँपहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।
आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबूक’मा लेखेका छन् । ‘सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुन्दर हिमाललाई बिदाइ गरे, अन्नपूर्णको सुन्दरताले मलाई सधैं आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।’
वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूले भरिएको छ ।
अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।
गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ ।
पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।