भारतको अरुणाञ्चल प्रदेशका तेन्जिङ मोन्पा मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचे झिलिङ्घमा अवस्थित नालन्दा बौद्ध विद्यालयमा कक्षा ५ मा पढ्नुहुन्छ । आमाको काख छोडेपछि बौद्ध शिक्षाका लागि पश्चिम बङ्गालको दार्जिलिङबाट आउनु्भएका पेमा शेर्पा कक्षा ७ मा अध्ययरत हुनुहुन्छ । नेपाली भाषीको बसोबास रहेकाले दार्जिलिङबाट आएका विद्यार्थीलाई मुस्ताङीसँग घुलमिल हुन निकै सहज भएको छ ।
नालन्दा बौद्ध विद्यालयमा भारतका विभिन्न राज्यबाट नौ जना विद्यार्थी अध्ययनरत छन् भने मुस्ताङ जिल्लाबाहिरका करिब ५० जनाभन्दा बढी विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले बताउनुभयो । प्रअ तुलाचन भन्नुहुन्छ, “भारतबाट हरेक वर्ष विद्यार्थी आउँछन्, जिल्लाबाहिरबाट आउने विद्यार्थीको आकर्षण राम्रो छ ।” विद्यालयमा मुस्ताङबाहेक म्याग्दी, बागलुङ, कास्कीसहित देशका विभिन्न जिल्लाबाट २५ भन्दा बढी विद्यार्थी निःशुल्क अध्ययनरत छन् । विद्यालयले नेपालको पाठ्यक्रम अनुसारका विषयमा आधारित पढाइ सञ्चालन गरेकाले आर्थिक अवस्था कमजोर भएका, अभिभावकविहीन बालबालिकालाई छात्रावासमै सबै राखेर पढाउने गरिएको प्रअ तुलाचनको भनाइ छ ।
बौद्ध शिक्षाबाहेक नेपाली पाठ्यपुस्तकमा आधारित माध्यमिक तहसम्मको पढाइपछि विद्यार्थीको चाहना अनुसार थप सहयोगसमेत गरिने प्रअ तुलाचन बताउनुहुन्छ । भारतको बौद्ध धर्मावलम्बीको बसोबास रहेको सिक्किम, दार्जिलिङ, अरुणाञ्चल प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीले चासो देखाएकाले आगामी शैक्षिक सत्रमा विद्यार्थीको सङ्ख्या थपिने नालन्दा बौद्ध विद्यालयले जनाएको छ । यस विद्यालयबाट माध्यमिक तहको परीक्षामा समेत समग्र जिल्लाको नतिजा उत्कृष्ट रहेको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले उच्च शिक्षामा आफूलाई सहज हुने विषयलाई निरन्तरता दिन सकिने प्रअ तुलाचनको भनाइ छ । यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १४ जना विद्यार्थी सहभागी भएका थिए ।
विसं २०६७ मा पद्मसम्भव च्यारिटी फाउन्डेसनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा अहिले कक्षा १ देखि १० सम्म निःशुल्क आवासीय सुविधासहित २४० विद्यार्थी अध्ययनरत छन् । यसैबिच मुस्ताङका अन्य पालिकामा रहेका बौद्ध विद्यालयमा विदेशी विद्यार्थी आउने गरेका छन् । सुविधायुक्त पठनपाठन हुने भएकाले जिल्लाबाहिरबाट आएका विद्यार्थी एसइई दिएपछि मात्रै विद्यालयबाट बिदा हुने गरेका छन् ।